सर्वाधिक ईभी बिक्री हुने सूचीमा परेन नेपाल, यी हुन् धेरै ईभी बेच्ने २० देश

काठमाडौं । कुल सवारी आयातमा विद्युतीय सवारी (ईभी)को हिस्सा करिब ७० प्रतिशत पुगे पनि नेपाल विश्वमा ईभी ‘एडाप्टेसन’ धेरै हुने शीर्ष २० मुलुकभित्र पनि पर्न असफल भएको छ ।

याहु फाइनान्सले सन् २०२३ को अगष्टमा सार्वजनिक गरेको विश्वकाा धेरै ईभी ‘एडाप्टेसन’ भएका २० देशको सूचीमा नेपाल अटाउन नसकेको हो । उक्त सूचीमा संसारकै धेरै मध्येको एक ईभी एडाप्टेसन भएको देश नेपालको नाम नै छैन ।

जबकि कुल कारको ९ प्रतिशतभन्दा कम ईभीले बजार पाएको देशसमेत सूचीमा छन् । नेपालले २०२३ मा करिब ७२ प्रतिशत ईभी बिक्री गरेको थियो । याहुको सूची अनुसार त नेपाल कम्तीमा दोस्रो या तेस्रो स्थानमा हुनु पर्थ्यो ।

सार्वजनिक भएका रिपोर्टमा ईभीको बिक्री बढ्नुमा दुई या तीन कारणलाई प्राथमिताका साथ उल्लेख गरिएको छ । जबकि नेपालमा ईभी बिक्री बढ्नुमा ५ भन्दा धेरै कारण छन् । त्यसका विषयमा सरकारले अन्तर्राष्ट्रिय मञ्चमा बोल्न सकेको छैन ।

विद्युतीय साधनको उच्च प्रयोग हाम्रो आन्तरिक ऊर्जा खपत, पर्यटन प्रबद्धर्न जस्ता विषयमा उपयोगी भए पनि सरकारले अन्तर्राष्ट्रिय फोरममा यसलाई बलियोसँग लान नसकेको व्यवसायीहरूको पनि बुझाइ छ ।

‘नेपालले कार्बन उत्सर्जन कम गर्न गरेको सकारात्मक पहललाई सरकारले अन्तर्राष्ट्रिय मन्चहरूमा उठाउन सक्नुपर्छ । हामीले गरेको ईभी प्रयोग र हाम्रो कार्बन उत्सर्जन न्यूनीकरण बापत धेरै उत्सर्जन गर्ने देशले तिर्नुपर्ने रकम ल्याउन पहल गर्न सहज हुन्थ्यो । त्यसमा सरकारको ध्यान गएको छैन । बरु ईभी बापत उठ्ने कर गुम्यो भनेर सधैँ कराइ रहेका छौं,’ बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन् ।

श्रेष्ठको जस्तै धारणा अन्य व्यवसायीहरूको पनि छ । उनीहरू भन्छन्, ‘अन्य देशले त नगद अनुदान नै दिएर विद्युतीय गाडीको प्रयोग बढाएका हुन् । जे जति भए पनि हामीले त कर नै लगाएका छौं नि । त्यसैले विद्युतीय गाडीको प्रयोग बढाउन पूर्वाधार निर्माणमा अझै धेरै काम गर्नु पर्नेछ ।’

बिक्री अनुपात आधारलाई हेर्दा नेपाल तेस्रो स्थानमा पक्का पर्ने थियो । तर, हाम्रो ईभी एडाप्टेसनलाई कसैले पनि खुलेर चर्चा नगरेको कारण सूचीमा नअटाएको बुझ्न सकिन्छ । यी हुन् याहु फाइनान्सको रिसर्चमा आधारित धेरै ईभी एडाप्टेन भएका २० देश ।

२०. स्पेन : यूरोपियन देश स्पेनले २०२३ को मध्येसम्ममा कुल कार बिक्रीको ८.८९ प्रतिशत ईभीको हिस्सा रहेको छ । स्पेनले ईभीको बिक्री बढाउन २४ बिलियन यूरो लगानी गर्ने घोषणा गरेको छ ।

१९. इटाली : युरोपकै अर्को देश इटलीमा ईभी बिक्री ९ प्रतिशत पुगेको छ । इटलीले विद्युतीय कार किन्ने उपभोक्तालाई प्रतिकार ६ हजार यूरोसम्म अनुदान दिँदै आएको छ ।

१८. कोरिया : दक्षिण कोरियामा कुल कार बिक्रीको ९.३९ प्रतिशत ईभी बिक्री भएको छ । दक्षिण कोरिया सरकारले ५ करोड ७० लाख वन अनुदान घोषणा गरेसँगै ईभीको बिक्री क्रमिक बढ्दै गएको छ ।

१७. क्यानडा : क्यानडा पनि ईभी बिक्री बढ्दो क्रममा रहेको देश हो । त्यहाँ कुल कार बिक्रीको ९.३९ प्रतिशत विद्युतीय कार बिक्री हुन थालेको छ । क्यानेडा सरकारले प्रतिकार २५०० देखि ५००० क्यानेडियन डलर अनुदान दिँदै आएको छ ।

१६. न्यूजिल्याण्ड : विद्युतीय कारको प्रयोग बढाउँदै गएको अर्को देश न्यूजिल्याण्डमा ईभीको हिस्सा १३ प्रतिशत पुगेको छ । न्यूजिल्याण्डले उत्कृष्ट ब्राण्डका उत्पादनमा अनुदान दिएको छ । सामान्य ब्राण्डका ईभीमा पूर्ण कर लगाएको छ । यहाँ टेस्ला सबैभन्दा धेरै बिक्री हुन्छ ।

१५. इजरायल : एशियाली देशले ईभीको हिस्सा १३ प्रतिशत पुर्याउन सफल भएको छ । मिडिल इष्टमा नै सबैभन्दा धेरै ईभी प्रयोग गर्ने देश इजरायल हो । इजरायल सरकारले पनि कर छुट दिएर ईभीलाई प्रोत्साहन गरेको छ ।

१४. फ्रान्स : युरोपकै शक्तिशाली मध्येको एक र वातावरणमा सचेतनामा ठूलो लगानी गर्दै आएको फ्रान्समा ईभीको हिस्सा २१ प्रतिशत पुगेको छ । फ्रान्स सरकारले सन् २०१९ देखि नै ठूलो रकम ईभी प्रमोटमा खर्च गर्दै आएको छ ।

१३. पोर्चुगल : युरोपकै अर्को देश पोर्चुगलमा ईभीको बजार हिस्सा २२ प्रतिशत पुगेको छ । वातावरणको हिसाबले वार्षिक ४ मिलियन यूरोसम्म पूर्वाधार निर्माण र नगद अनुदानमा खर्च गरेको कारण ईभीको प्रयोग बढेको हो ।

१२. अष्ट्रिया : अष्ट्रियामा पनि ईभीको हिस्सा बढ्दै गएको छ । यहाँ कुल कार बिक्रीमा २२ प्रतिशत ईभी बिक्री हुन्छ ।

११. बेलायत : आधुनिक सभ्यताको लिडर बेलायतमा ईभीको हिस्सा २३ प्रतिशत पुगेको छ । बेलायतले ईभीको प्रयोग बढाउन र पूर्वाधार निर्माण गर्न वार्षिक १० मिलियन पाउन्ड खर्च गर्दै आएको छ ।

१०. स्वीट्जरल्याण्ड : सरकारले पूर्वाधार निर्माणमा लगानी बढाएको कारण स्वीट्जरल्याण्डमा ईभीको बजार हिस्सा २५ प्रतिशत पुगेको छ । यहाँ टेस्ला जस्ता कम्पनी सुरू देखि नै बलियो थिए ।

९. बेल्जियम : युरोपकै अर्को देश बेल्जियममा पनि ईभीको हिस्सा २६ प्रतिशत पुगेको छ । बेल्जियमले पनि कर छुट दिएर गाडी बिक्री गरेको कारण ईभी प्रयोगकर्ता बढेका हुन् ।

८. चीन : सन् २०२३ को सुरूआतमा सर्भे गर्दा २९ प्रतिशत ईभी बिक्री भएको चीनमा २०२३ को अन्तिममा आइपुग्दा ३८ प्रतिशत हाराहारी पुग्यो । चीन ईभीको उद्गम स्थल हो । यहाँ सरकारले ठूलो धनरासी अनुदानमा खर्च गर्दै आएको छ ।

७. जर्मनी : यूरोपियन पावर हाउस जर्मनीमा ईभीको बिक्रीले ३१ प्रतिशत बजार हिस्सा ओगटेको छ । पूर्वाधार निर्माण लगानी बढाउनु र प्रतिकार ४ हजार यूरोसम्म अनुदान दिएको कारण यहाँ ईभी बिक्री बढ्दै गएको हो ।

६. नेदरल्याण्ड : युरोपको अर्को देश नेदरल्याण्डमा ३५ प्रतिशत ईभीको हिस्सा पुगेको छ । वातावरण प्रति सुरूदेखि नै सहजक यहाँ सरकारले पूर्वाधार निर्माणमा राम्रो लगानी गरेको छ ।

५. फिनल्याण्ड : समाजवादको नमूना मानिने फिनल्याण्डमा ईभीको बजार हिस्सा ३५ प्रतिशत छ । यहाँको सरकारले सुरूदेखि नै ईभी प्रयोगलाई प्राथमिकता दिँदै आएको थियो ।

४. डेनमार्क : युरोपको अर्को देश डेनमार्कमा ईभीको हिस्सा ३९ प्रतिशत पुगेको छ । यहाँ ६० प्रतिशतसम्म छुट दिएर ईभी बिक्री सुरू भएको थियो । अहिले पनि धेरै किसिमका छुट ग्राहकले पाउने छन् ।

३. स्वीडेन : युरोपकै अर्को देश स्वीडेनमा ५४ प्रतिशत ईभी बिक्री हुन्छ । यहाँ ईभीको मूल्यमा ५० प्रतिशतसम्म अनुदान दिएको छ ।

२. आइसल्याण्ड : आइसल्याण्डमा अहिले ७० प्रतिशत ईभी बिक्री हुन्छ । सरकारले दिएको कर छुट र पूर्वाधार निर्माण भएको कारण आइसल्याण्डमा ईभी धेरै बिक्री भएको हो ।

१. नर्वे : विश्वकै धेरै विद्युतीय साधन एडाप्टेसन गर्ने देश नर्वे हो । यहाँ बिक्री हुने कुल नयाँ कारको ८८ ईभी बिक्री हुन्छ । सरकारले दिएको कर छुट र अनुदानकै कारण नर्वेमा ईभीको बिक्री धेरै भएको हो ।

 

 

 


Back_to_top