होण्डाको एक्टिभा-ई र क्यूसी १ इलेक्ट्रीक स्कुटरको मूल्य सार्वजनिक

काठमाडौं । होण्डाको बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर एक्टिभा-ई र क्यूसी १ स्कुटरको मूल्य सार्वजनिक भएको छ । कम्पनीले आजदेखि नयाँ दिल्लीमा सुरू भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा ती दुई स्कुटरको मूल्य तोकेको हो ।

कम्पनीले केही समय अघि मात्रै भारतमा सार्वजनिक गरेर बुकिङ समेत खुलाई सकेको दुई नयाँ इलेक्ट्रीक स्कुटर एक्टिभा ईको १ लाख १७ हजार भारतीय रुपैयाँ, एक्टिभा ई कनेक्टको १ लाख ५१ हजार भारतीय रुपैयाँ र क्यूसी १ को ९० हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेको हो ।

कम्पनीले यी स्कुटरको डेलिभरी भने फेब्रुअरी २०२५ देखि सुरू गर्ने जनाएको छ । कम्पनीले धेरै जसो फिचर एउटै दिएको एक्टिभा ई र क्यूसी १ समान डिजाइनमा बनेको स्कुटर हो ।

कम्पनीले एक्टिभा ई मा १.५ किलोवाट क्षमातका दुई रिमुभएबल ब्याट्री प्याक दिएको छ भने, क्यूसी १ मा १.५ किलोवाट क्षमताको फिक्सड् ब्याट्री छ । एक्टिभालाई घरमा चार्ज गर्न सकिन्न भने क्यूसी १ मा चार्जिङ पोर्ट दिइएको छ । एक्टिभा ईमा तीन राइड मोड उपलब्ध हुँदा क्यूसी १ मा २ वटा मोड मात्रै उपलब्ध छ ।

होण्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले २०२५ मा क्यूसी १ र एक्टीभा ई मोडल १ लाख युनिट उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले सुरूवातमा शहरी क्षेत्रहरूमा यसको बिक्री सुरू गर्ने योजना बनाएको हो ।

यी स्कुटरले बजाज चेतक, टीभीएस आइक्यूब, एथर चेतक जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

कहिले आउला नेपाल ?

होण्डा इन्डियाले उत्पादन गरेको धेरैजसो मोडलहरू चाँडै नै नेपाली बजारमा आउने गरेका छन् । होन्डाले भारतमा सार्वजनिक गरेको एक्टिभा ई तत्काल नेपाल आउने सम्भावना भने कम छ ।

एक्टिभा ईमा चार्जिङ पोर्ट नभएको र यसका लागि स्वाप स्टेशन निर्माण गर्नुपर्ने हुन्छ । स्वाप स्टेशनका लागि ठूलो लगानी आवश्यकता पर्ने कारण एक्टिभा ई नेपाल आउने सम्भावना कम देखिन्छ ।

सन् २०२५ को अन्त्यसम्ममा होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले क्यूसी १ मोडल भने नेपाल भित्र्याउने सम्भावना देखिन्छ ।

पछिल्लो समय नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक स्कुटर बिक्रेताहरूले राम्रो व्यापार गर्न थालेका छन् । यस्तोमा भारतीय बजारमा उत्पादन भएको होण्डाको इलेक्ट्रीक स्कुटर २०२५ को अन्त्यसम्ममा नेपालमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top