५२ वर्ष पहिले र अहिलेको होन्डा सिबी ३५० मा यस्तो छ फरक

काठमाडौं । होन्डाले सन् १९६८ देखि उत्पादन गरेको सिबी ३५० मोडल निकै चर्चित मोडल रहेको थियो । त्यति वेला सिबी ३५० लाई सुपर स्पोर्ट भन्ने चलन थियो । त्यति वेला होन्डा सिबी ३५० मा दिइएको दुई वटा एग्जस्ट पाइप आधुनिक हाइनेस सिबी ३५० बाट गायब भएको छ ।

सन् १९६८ मा उत्पादन भएकाे सिवी ३५०

नेपालमा पनि त्यति बेलाको सिबी ३५० आएको थियो । नेपाल प्रहरीले आफ्नो कार्गेटको लागि यसको प्रयोग गरेको थियो । होन्डाले पुरानो सिबी ३५० मा ३२५.६ सीसी एयर कुल्ड १८० डिग्री प्यारलल् ट्वीन इन्जिन दिएको थियो । उक्त इन्जिनले १० हजार ५०० आरपीएममा अधिकतम ३६ बीएच पावर र ९ हजार ५०० आरपीएममा २५ एनएम पिक टर्क प्रदान गथ्र्यो ।

अहिले आएको नयाँ मोडलमा हाइनेसमा ३४८ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, ओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ५५०० आरपीएममा २१.०७ बीएच पावर र ३००० आरपीएममा ३० एनएम टर्क प्रदान गर्छ । नयाँ सिबी ३५० को तुलनामा पुरानो मोडल निकै पावरफुल रहेको थियो ।

पुरानो सिबी ३५० मा ५ स्पीड गियरबक्स रहेको थियो भने दुबै चक्कामा ड्रम ब्रेक दिइएको थियो । सुरुमा किक स्टार्ट मात्र दिइएको सिबी ३५० मा पछि इलेक्ट्रीक स्टार्ट सुविधा उपलब्ध रहेको थियो । तर, होन्डाले सन् २०२० मा भारतमा उत्पादन गरेको हाइनेस सिबी ३५० मा पनि ५ स्पीड गियरबक्स रहेको छ ।

सन् २०२० हाइनेस सिबी ३५०

पुरानो सिबी ३५० मा होन्डाले अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्वीङआर्म सस्पेन्सन दिइएको थियो । नयाँ हाइनेस सिवी ३५० मा अगाडि टेलिस्कोपिक र पछाडि ट्वीन हाइड्रोलिक सस्पेन्सन रहेको छ ।

पुरानो सिवी ३५० को कुल तौल १७९ किलोग्राम थियो भने १० लिटर क्षमताको फ्यूल ट्याङ्क दिइएको थियो । नयाँ मोडलको तौल १८१ किलोग्राम र १५ लिटरको फ्यूल ट्याङ्क उपलब्ध रहेको छ ।

होन्डाले नयाँ मोडलमा सुरक्षा फिचर थप गरेको छ । कम्पनीले हाइनेसको अगाडि चक्कामा ३१० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक दिएको छ । अगाडि १९ इन्च र पछाडि १८ इन्चको टायर र ड्यूल च्यानल एबीएस यसको मुख्य आकर्षण हो । रेट्रो डिजाइनमा आएको यो मोटरसाइकल नेपाली बजारमा निकै चर्चामा रहेको मोडल हो ।

निषेधाज्ञाको समयमा नै नेपाल आएको हाइनेस सिबी ३५० को पहिलो लट अधिकांश बुकिङ भइसकेको स्याकार ट्रेडिङले जनाएको छ । कम्पनीले यसको मूल्य ७ लाख ५० हजार निर्धारण गरेर पहिलो लटमा किन्ने ग्राहकलाई ५० हजार रुपैयाँ छुट दिएको छ ।

कोभिड १९ विरुद्धको लडाईमा अग्रभागमा रहेर काम गर्नेहरुको लागि कम्पनीले हाइनेस सिबी ३५० डेलिभरी समेत सुरु गरेको हो ।


Back_to_top