सुजुकी वर्गम्यान स्ट्रीट–१२५ म्याक्सी स्कुटरले भारतीय बजारमा २०१८ अटो एक्स्पोबाट प्रवेश गरे पनि कम्पनीले दुई हप्ता अगाडिमात्रै बिक्री–वितरण सुरु गरेको हो । सुजुकी वर्गम्यान स्ट्रीट एक म्याक्सी स्कुटर हो । यससँग अहिलेसम्म सिधा प्रतिस्पर्धा गर्ने कुनै पनि स्कुटर भारतीय बजारमा आएको छैन ।
केही महिनाअघिमात्रै जापानिज कम्पनीले होन्डाले फ्रोजा म्याक्सी स्कुटर युरोपियन बजारमा सार्वजनिक गरेको छ, जसको सिधा प्रतिस्पर्धा वर्गम्यान स्ट्रीटसँग हुने अनुमान गरिएको छ । तर, होन्डाले फ्रोजालाई तत्काल भारतीय बजारमा ल्याउने योजना सार्वजनिक गरेको छैन ।
भारतीय बजारमा सुजुकीले वर्गम्यान स्ट्रीट घोषणा भएको लामो समयपछिमात्र ल्याएको हो । यो स्कुटरको स्टाइल अन्य स्कुटरहरूकोभन्दा फरक छ भने, लङ्गसिट र फ्रन्ट साइडमा बिग फेयरिङ्ग हेडल्याम्पले स्कुटरलाई बोल्ड देखाएको छ । यसमा अन्डरसिट स्टोरेज पनि सामान्यभन्दा ठूलो बनाइएको छ । पन्ची इञ्जिनको प्रयोगले उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दाबी रहेको छ ।
त्यसैगरी, होन्डाको फ्रोजा युरोपियन बजारमा चर्चित म्याक्सी स्कुटर हो । यसलाई जापानिज कम्पनीले भर्खरैमात्र सार्वजनिक गरेको छ । यी दुवै स्कुटरमा केही समानता रहेका छन् । दुवै म्याक्सी स्कुटर–१२५ सीसी क्षमताको रहेको छ । फ्रोजा वर्गम्यान स्ट्रीटभन्दा बलियो रहेको अनुमान गरिएको छ ।
सुजुकी वर्गम्यान स्ट्रीट–१२५ मा १२४.३ सीसी सिङ्गल सिलिन्डर इञ्जिन दिइएको छ । यसमा लगाइएको इञ्जिनले ६५०० आरपीएममा ८.४ बीएचपी तथा ५००० आरपीएममा १०.२ एनटर्क उत्पादन गर्छ ।
त्यसैगरी, होन्डा फ्रोजामा १२५ सीसी सिङ्गल सिलिन्डर इञ्जिन दिइएको छ । यसमा लगाइएको इञ्जिनले ८७५० आरपीएममा १४.२५ बीएचपी पावर तथा ८२५० आरपीएममा १२.५ एनटर्क उत्पादन गर्छ । दुवै स्कुटरमा अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ ।
वर्गम्यान स्ट्रीट–१२५ डाइमेन्सनमा फ्रोजाभन्दा सानो रहेको छ, तर सुजुकी फ्रोजाभन्दा आधुनिक, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरकासाथमा आएको छ ।
एलईडी हेडल्याम्प तथा टेलल्याम्प जडित सुजुकी वर्गम्यान स्ट्रीटमा १२ भी मोवाइल चार्जर तथा मल्टी फङ्गसन की स्लटजस्ता विशेषताकासाथ बजारमा आएको छ ।
होन्डाको फ्रोजामा एलईडी इन्डिकेटर जडान गरिएको छ भने, टु–फेस हेल्मेट राख्न मिल्ने गरी अन्डरसिट स्टोरेजकासाथमा बजारमा आएको छ ।
सस्पेन्सन सेटअप पनि वर्गम्यान स्ट्रीटकोभन्दा फ्रोजाको फरक रहेको छ । होन्डाको फ्रोजामा पछाडि भागमा ड्यूलशक तथा अगाडि टेलिस्कोप फोर्क सस्पेन्सन दिइएको छ । वर्गम्यान स्ट्रीटमा पछाडि भागमा एड्जस्टेवल मोनोशक सस्पेन्सन दिइएको छ भने अगाडि टेलिस्कोपिक सस्पेन्सन दिइएको छ ।
यदि होन्डाले फ्रोजालाई भारतीय बजारलाई आधार बनाएर ल्याएमा यसमा एक्टिभ–१२५ इञ्जिन तथा अन्य विशेषताहरू प्रयोग गर्ने अनुमान गरिएको छ । होन्डा फ्रोजा वर्गम्यान स्ट्रीट–१२५ को एउटा बलियो प्रतिद्वन्द्वीको रुपमा आउन सक्नेछ । वर्गम्यान स्ट्रीट सार्वजनिक भएको १२ दिनमा नै भारतीय बजारमा १० हजार यूनिटभन्दा बढी बिक्री भइसकेको छ ।
मूल्य
भारतीय बजारमा सुजुकी वर्गम्यान स्ट्रीट–१२५ को मूल्य ६८ हजार भारतीय रुपैयाँ तोकिएको छ भने होन्डाले फ्रोजा भारतमा आउने हो भने करिब ९० हजार भारतीय रुपैयाँको हाराहारीमा पर्ने अनुमान गरिएको छ ।

