१ रुपैयाँ डाउन पेमेन्टमा होन्डा साइन किन्नेले मासिक ७ हजार ९ सय तिर्नु पर्ने

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै स्कीम सार्वजनिक गरेको छ । कम्पनीले लकडाउनपछि ल्याएको जस्तै १ रुपैयाँ डाउन पेमेन्टदेखि १ प्रतिशत व्याजदरमा नै मोटरसाइकल दिने योजना अगाडि सारेको हो ।

कम्पनीले ल्याएको यस योजनामा सिबी साइन मोटरसाइकल किन्ने ग्राहकले मासिक ७ हजार ९४१ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ । कम्पनीले सिबी साइनको मूल्य २ लाख २५ हजार ९०० रुपैयाँ तोकेको छ । यस अफरमा मोटरसाइकल किन्ने ग्राहकले कुनै थप छुट पाउने छैनन् ।

एक रुपैयाँ तिरेर सिबी साइन चढ्न चाहने ग्राहकले ३६ महिनासम्म मासिक किस्ता तिर्नु पर्ने हुन्छ । होन्डाले उपलब्ध गराएको कर्जा सुविधामा मासिक १६ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ । यदि ग्राहकले नियमितरुपमा आफ्नो मासिक किस्ता समयमा नै भुक्तानी गरेमा अन्त्यमा १.५ प्रतिशतले व्याज कम गर्ने छ ।

यसरी मोटरसाइकल किन्दा ग्राहकलाई धेरै रकम व्याजमा तिर्नु पर्ने हुन्छ । ग्राहकले मासिक बुझाउने किस्तामा साँवाभन्दा व्याज वापतको रकम धेरै तिर्नु पर्छ । तर, एकै पटक डाउन पेमेन्ट गर्ने रकम जुटाउन मुस्कील पर्ने तर नियमित आम्दानीबाट मासिक किस्ता बुझाउने मानिसको लागि भने यो योजना उपयुक्त हुन सक्छ ।

कम्पनीले दिएको अर्को योजना १ प्रतिशत व्याजदरको हो । यो स्कीममा सिबी साइन किन्न चाहने ग्राहकले ६० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । मोटरसाइकलको मूल्यको ६० प्रतिशतले हुन आउने १ लाख ३५ हजार ४५० रुपैयाँ डाउन पेमेन्ट गरेपछि ग्राहकले ९० हजार ३६० रुपैयाँ १ प्रतिशत व्याजदरमा कर्जा लिन पाउने छन् ।

यो स्कीममा मोटरसाइकल खरिद गर्न चाहनेले १२ किस्तामा कर्जा भुक्तान गर्नु पर्ने हुन्छ । यसरी सिबी साइन किन्दा भने मासिक किस्ता ७ हजार ५७० रुपैयाँ पर्छ ।

होन्डाको सिबी साइन नेपालमा निकै सफल १२५ सीसीको मोटरसाइकल हो ।


Back_to_top