काठमाडौं । जापानी सवारीसाधन निर्माता होन्डाले भारतीय बजारमा सबैभन्दा सस्तो मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले अहिले रहेको इन्ट्री लेभल मोडल सिडी ११० भन्दा कम मूल्यको नयाँ मोडल ल्याउन लागेको हो ।
कम्पनीले १०० सीसी क्षमताको नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले हिरो स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्न सक्नेगरी नयाँ मोटरसाइकल ल्याउन लागेको हो । उक्त मोटरसाइकल आगामी मार्च महिनामा सार्वजनिक हुनेछ ।
भारतीय बजारमा १०० सीसी सेग्मेन्टमा हिरो स्प्लेन्डरल सबैभन्दा धेरै विक्री हुने मोटरसाइकल पर्छ । होन्डाले यही सेग्मेन्टमा हिरो स्प्लेन्डरको प्रतिस्पर्धी मोडल ल्याउने भएको हो ।
सन् २०२१ मा होन्डा इन्डियाका सीईओ अतुसी ओगाटाले १०० सीसी सेग्मेन्टमा मोटरसाइकल ल्याउने घोषणा गरेका थिए । लामो समयपछि कम्पनीले १०० सीसी सेग्मेन्टमा मोटरसाइकल ल्याउने भएको हो ।
होन्डाको १२५ सीसी मोटरसाइकल साइनले अहिले राम्रो बजार पाइरहेको छ । त्यस्तै ११० सीसी सेग्मेन्टमा विक्री गर्ने सीडी ११० सबैभन्दा कम मूल्यको होन्डा मोटरसाइकल रहेको छ । यसको मूल्य ७१ हजार रुपैयाँ एक्स शोरुम मूल्य रहेको छ ।
कम्पनीले ल्याउने १०० सीसी मोटरसाइकल हिरो स्प्लेन्डरभन्दा कम मूल्यको हुनुको साथै स्प्लेन्डरको तुलानमा धेरै माइलेज दिने अनुमान गरिएको छ ।
त्यस्तै कम्पनीले १२५ सीसी सेग्मेन्टमा स्पोर्टी मोटरसाइकल समेत ल्याउने तयारी गरिरहेको छ । सन् २०२४ सम्ममा कम्पनीले होन्डा एक्टीभा इलेक्ट्रीक सार्वजनिक गर्ने योजना बनाएको छ । १०० सीसी नयाँ मोटरसाइकलको बारेमा धेरै कुरा बाहिर भने आएको छैन ।

