होन्डाको दुई ढोका भएको इलेक्ट्रीक स्पोर्टस् कार

काठमाडौं । जापानी अटो निर्माता कम्पनी होन्डाले दुई ढोका भएको स्पोर्टस् कारको उत्पादन मोडल ल्याउने तयारी गरेको छ । दुई सिट क्षमताको कन्भर्टेवल कारको रुपमा नयाँ इलेक्ट्रीक स्पोर्टस् कार आउने भएको हो ।

होन्डाको एस-६६० मा आधारित नयाँ इलेक्ट्रीक कार सन् २०२२ मार्चबाट उत्पादनमा आउने अनुमान गरिएको छ । होन्डाको स्पोर्टस् इभी कन्सेप्टलाई कम्पनीले २०१७ टोकियो मोटर शोमा देखाएको थियो ।

सन् २०१९ मा प्याटेन्ट दर्ता गरेको यो मोडल अब उत्पादनको क्रममा गइसकेको बताइएको छ । निकै आकर्षक देखिएको कुपे डिजाइनको यो कारलाई होन्डा इ ह्याचको रेट्रो लुक्स मिश्रण गरिएको देख्न सकिन्छ ।

कम्पनीले यसमा पनि होन्डा इ ह्याचव्याकमा जस्तै समान ३५.५ किलोवाट आवरको व्याट्री प्याक प्रदान गर्नेछ । एक पटकको फुल चार्जमा यसलाई २२० किलोमिटर गुडाउन सकिने छ । यसमा ११४ किलोवाटको मोटर प्रयोग हुनेछ ।


Back_to_top