४ लाख डाउन पेमेन्ट र मासिक २२ हजार किस्तामा किन्न सकिने सोलार कार

काठमाडौं । सरकारले विद्युतीय कारमा लगाएको कर घटाएसँगै यस्ता गाडीको चर्चा निकै चुलिएको छ । विद्युतीय कारको चर्चा चुलिएसँगै आयातकर्ता कम्पनीले यस्ता कारको विक्रीलाई बढवा दिने प्रयास गरिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाले पनि न्यूनतम डाउन पेमेन्टमा नै विद्युतीय गाडीमा कर्जा प्रबाह गर्दै आएका छन् । यस्तोमा सबैभन्दा कम मासिक किस्तामा किन्न सकिनेगरि नेपाली बजारमा उपलब्ध डेरी ब्राण्डको विद्युतीय कारको विषयमा हामीले यहाँ जानकारी दिने प्रयास गरेका छौं ।

नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार डेरी ब्राण्डको इएम-७ कार किन्न चाहने ग्राहकले ३ लाख ९८ हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्ने छ ।

अटोहोस्ट प्रालिले नेपालमा विक्री गर्दै आएको इएम-७ को मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । उक्त रकममा डाउन पेमेन्ट वापत तिरेको रकम घटाउँदा १५ लाख ९२ हजार रुपैयाँ ग्राहकले कर्जा सुविधा पाउने छन् । अहिले ठूला बैंकहरुले ७.५ प्रतिशतमा सवारी साधन कर्जा उपलब्ध गराउँदै आएका छन् । उक्त व्याजदरमा ८ वर्षको लागि कर्जा लिएर गाडी किन्ने ग्राहकले २२ हजार १०३ रुपैयाँ मासिक किस्ता तिरे पुग्ने छ । सम्पूर्ण मासिक किस्ताको अनुमानित विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यस्तो छ सोलार जडान भएको इएम-७

डेरीले नेपालमा विक्री गर्दै आएको इएम-७ सोलार प्यानलसहितको इलेक्ट्रीक कार हो । यसलाई सोलारले चार्ज गरिरहेको हुन्छ । यद्यपी यसलाई विद्युतबाट भने चार्ज गर्नु पर्ने हुन्छ ।

‘इएम-७ मा जडान भएको सोलारले करिब ३० किलोमिटर अतिरिक्त चार्ज जेनेरेट गर्ने हुँदा सोलार जडान भएको कार उपयुक्त मानिन्छ । हामीसँग भएको इभी-७ र इएम-७ मा समान व्याट्री छ । तर, सोलार जडान भएको गाडीले धेरै रेञ्ज दिन्छ । अटोहोस्टका संचालक नवराज पौडेलले मेरोअटोसँग भने ।

कम्पनीले अहिले ल्याउन लागेको नयाँ गाडी पहिलेको तुलनामा निकै राम्रा फिचर थप भएर आउन लागेको पौडेलले जानकारी दिए ।
१७ किलोवाट आवरको व्याट्री र १५ किलोवाट क्षमताको मोटर जडान भएको इएम-७ मा हिल एसिस्ट, पावर विन्डो, एसी, हिटर, टचस्कृन, रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोट कि, अलोय ह्वील जस्ता फिचर दिइएको छ ।

यो कारलाई आफ्नो घरायसी विजुलीबाट ग्राहकले सजिलै चार्ज गर्न सक्ने छन् ।


Back_to_top