होन्डा एक्स व्लेड र बजाज पल्सर एनएस १६० को सबल र कमजोर पक्ष

काठमाडौं । नेपालमा सर्वाधिक मोटरसाइकल बिक्री गर्ने कम्पनी बजाज हो भने स्कुटर र मोटरसाइकल मिलाउँदा होन्डा सर्वाधिक दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने कम्पनी हो ।

नेपालमा यी दुबै कम्पनी सेल्स, सर्भिस, आफ्टर सेल्स र पार्टस उपलब्धताको मामलामा उत्कृष्ट कम्पनीमा पर्छन् । दुबै कम्पनीले बिक्री पछिको सेवालाई निकै राम्रो पूर्वाधार तयार पारेर काम गरिरहेका छन् ।

यस्तोमा होन्डाले बिक्री गर्दै आएको एक्स व्लेड र पल्सर एनएस १६० मध्ये कुन मोटरसाइकल किन्ने भन्ने दुविधामा रहेकाहरुलाई सजिलो बनाउन हामीले यी दुई मोटरसाइकलमा रहेका विशेषतालाई केलाउने प्रयास गरेका छौं ।

होन्डा एक्स व्लेड र एनएस १६० मा लगभग एउटै क्षमताको इन्जिन रहेको छ । एक्स व्लेडमा १६२.७१ सीसी र एनएसमा १६० सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ ।

समान इन्जिन रहेपनि एनएस पावरमा निकै अगाडि रहेको छ । एनएस १६० पल्सरमा रहेको इन्जिनले अधिकतम ९००० आरपीएममा १६.८ बीएच पावर प्रदान गर्छ भने एक्स व्लेडले ८००० आरपीएममा १३.५ बीएच पावर दिन्छ ।

दुबै मोटरसाइकलको टर्क भने लगभग बराबर रहेको छ । एनएसको इन्जिनले ७२५० आरपीएममा १४.६ एनएम टर्क प्रदान गर्छ । त्यस्तै एक्स व्लेडको इन्जिनले ५५०० आरपीएममा १४.७ एनएम टर्क जेनेरेट गर्छ ।

एनएसमा आयल कुल्ड इन्जिन रहेको छ भने एक्स व्लेडमा एयर कुल्ड इन्जिन रहेको छ । दुबै मोटरसाइकलमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

माइलेजको हिसावले हेर्ने हो भने एनएको तुलनामा एक्स व्लेड राम्रो रहेको मोटरसाइकलधनीहरु भनाई छ । हामीले दुबै मोटरसाइकल प्रयोगकर्ताहरुसँग माइलेको विषयमा कुरा गर्दा एनएसका चालकले औषत ३५ किलोमिटर माइलेज दिने दाबी गरे । त्यसैगरि एक्स व्लेडका चालकले ४५ किलोमिटर माइलेज दिने बताए ।

होन्डा एक्स व्लेडमा २७६ एमएमको अगाडि चक्कामा डिस्क ब्रेक रहेको छ भने एनएसमा २६० एमएमको डिस्क ब्रेक रहेको छ । एक्स व्लेडमा पछाडि ड्रम ब्रेक रहेको छ भने एनएसमा डिस्क ब्रेक रहेको छ ।

दुबै मोटरसाइकलमा अगाडि र पछाडि समान १७ इन्चको अलोय ह्वील दिइएको छ । एनएस १६० को अगाडि एन्टी फिक्सन बुस सहितको टेलिस्कोपिक र एक्स व्लेडमा टेलिस्कोपिक सस्पेन्सन रहेको छ । त्यसैगरि पछाडि एनएसमा निट्रोक्स मोनो सक एब्जर्वर र एक्स व्लेडमा हाईड्रोलिक मोनो शक दिइएको छ । एनएस पेरिमिटर फ्रेममा बनेको हो भने एक्स व्लेड डायमण्ड टाइप फ्रेममा बनेको हो ।

एनएसमा हेलोजन हेडलाइट रहेको छ भने एक्सव्लेडमा एलइडी रहेको छ । दुबै मोटरसाइकलको टेल ल्याम्प भने एलइडी रहेको छ ।

एनएस पल्सर १६० को सबल पक्ष

बजाज पल्सर एनएस १६० मा प्रयोग भएको इन्जिन निकै परिष्कृत इन्जिन हो । यसलाई चालकले निकै आरमदायी तरिकाले ह्याण्डल गर्न सक्ने किसिमको छ । यसका पार्टसहरु कम मूल्यमा पाइने छन् भने मेन्टिनेन्स खर्च निकै कम आउने गर्छ ।

एक्स व्लेडका सबल पक्ष

यो मोटरसाइकल चलाउन निकै आरमदायी रहेको छ भने होन्डाको नेटवर्कबाट सजिलै सर्भिस लिन सकिने छ । माइलेज धेरै आउने भएकाले पैसा बचत गर्न सक्ने इन्जिन यसमा उपलब्ध रहेको छ ।

एनएस पल्सर १६० को कमजोर पक्ष

यी दुई मोटरसाइकलको तुलनमा एनएसको कमजोर पक्ष भनेको माइलेज रहेको छ । एक्स व्लेडको तुलनामा यसको माइलेज कम रहेको छ ।

एक्स व्लेडको कमजोर पक्ष

यसको रियर ह्वीलमा ड्रम ब्रेक रहेको छ । हाल १५० सीसी सेग्मेन्टमा डबल डिस्क ब्रेक उपलब्ध हुन थालेका छन् ।


Back_to_top