१२ लाख खर्च गरेर बनाउन सकिन्छ उत्कृष्ट इलेक्ट्रीक कार

काठमाडौं । सरकारले पुराना कम्बस्चन इन्जिन भएका गाडीलाई इलेक्ट्रीकमा परिमार्जन गर्न मिल्नेगरी राजपत्रमा सूचना प्रकाशन गरेसँगै धेरै मानिसले आफ्नो पुरानो गाडीलाई इलेक्ट्रीक बनाउने घोषणा गरेका छन् ।

विशेषत शोसल मिडिया ग्रुपमा आफ्नो गाडी परिमार्जन गर्न चाहने मानिसहरुले विभिन्न क्रिया प्रतिक्रिया जनाइरहेका छन् । २० वर्ष पुराना गाडीलाई सरकारले धेरै कर लगाउने भएको कारण पनि मानिसहरुले पुराना गाडीलाई इलेक्ट्रीकमा बदल्न चाहेका छन् ।

यदि तपाईले पुरानो गाडी किनेर इलेक्ट्रीक बनाउने योजना बनाउनु भएको छ भने करिब १० लाख रुपैयाँसम्म खर्च गर्दा विद्युतीय गाडी बनाउन सकिन्छ । अहिले बजारमा ३ लाख रुपैयाँ हाल्ने हो भने पुरानो मारुती ८००, डाइहात्सु कोर, डेयू मार्टिज, सेभ्रोले स्पार्क, टोयोटा कोरोला, निसान सन्नी जस्ता कारहरु किन्न सकिन्छ । यी कारलाई इलेक्ट्रीकमा सजिलै कन्भर्ट गर्न सकिन्छ ।

सरकारले गत आर्थिक वर्षदेखि नै पुराना कारलाई इलेक्ट्रीकमा कन्भर्ट गर्न आवश्यक पाटर्सहरुको आयातमा सून्यदेखि १ प्रतिशत मात्रै भन्सार लिने व्यवस्था गरेको छ । त्यसैले यस्ता पाटर्सहरु ल्याउँदा धेरै राजश्व तिर्नु पर्दैन ।

राष्ट्रिय आविश्कार केन्द्रदेखि अन्य विभिन्न वर्कसपले गाडी कन्र्भट गर्ने सुविधा दिन थालेका छन् । लाखौं रुपैयाँ खर्चेर ल्याएका गाडी २० वर्षपछि त्यसै फ्याक्ने गरिएको छ । यसलाई इलेक्ट्रीकमा रुपान्तरण गरेको खण्डमा अर्को १० वर्ष विना प्रदुषण चलाउन सकिन्छ भन्ने मान्यता सरकारले पनि राखेर नयाँ नीति लिएको बुझ्न कठिन छैन ।

अवश्यक मुख्य सामग्री

यसरी पुराना कारलाई इलेक्ट्रिकमा परिमार्जन गर्न चाहिने मुख्य सामाग्री मोटर, व्याट्री र विभिन्न वायरहरु हुन् । गाडीको अन्य पार्टसमा खासै ठूलो परिमार्जनको आवश्यकता पर्दैन ।

सामान्यतया यस्ता कारलाई इलेक्ट्रीकमा कनभर्रट गर्दा १३ देखि २५ किलोवाट आवरको व्याट्री प्रयोग गर्नु पर्ने हुन्छ । यसरी प्रयोग गरिने व्याट्रीलाई अगाडि इन्जिन भएको स्थानमा राख्न सकिन्छ । विद्युतीय गाडीमा इन्जिनको आवश्यकता नपर्ने भएकाले उक्त स्थान खाली गरेर व्याट्रीका सेल सुरक्षित तरिकाले राख्न सकिन्छ ।

साना मारुती ८०० साइजका कारमा २० किलोवाट क्षमताको मोटर नै उपयुक्त हुने इन्जिनियरहरु बताउँछन् । हलुका र सानो साइजका कारमा दिइने १३ किलोवाट आवरको व्याट्रीले एक पटकको फुल चार्जमा १०० किलोमिटर भन्दा बढी रेञ्ज दिने इन्जिनियरहरुको भनाई छ ।

ड्यासबोर्डलाई आधुनिक बनाउन सकिन्छ

यस्ता पुराना कारलाई इलेक्ट्रीकमा परिमार्जन गरेसँगै ड्यासबोड, ह्वील, सिट लगायत परिमार्जन गरेर आधुनिक बनाउन सकिन्छ । अहिले कारमा हुने इन्फोटेन्टमेन्ट सिस्टम, रिभर्स क्यामेरा लगायतका फिचरहरु यी पुराना मोडलका कारमा सजिलै हाल्न सकिन्छ ।

यस्तो छ अनुमानित खर्च

अहिले अन्तर्राष्ट्रिय बजारमा व्याट्रीको मूल्य प्रति किलोवाट व्याट्रीको मूल्य २५० डलरसम्म रहेको छ । अधिकतम मूल्य २५० डलरको हिसावले ल्याउदा पनि १५ किलोवाट आवरको व्याट्रीको खर्च ६ लाख हाराहारी पर्छ । ४ लाख ५० हजार रुपैयाँ पर्छ ।

त्यसवाहेक मोटर, वायर लगायतका अन्य पार्टस आयात र यहाँ बनाउने खर्च ३ लाख लगाउने हो भने उत्कृष्ट इलेक्ट्रीक कार बन्ने छ । पुरानो गाडी किनेर इलेक्ट्रीक बनाउदा पनि करिब १२ लाख हाराहारी मात्रै खर्च लाग्ने छ ।


Back_to_top