करिब ४ लाख डाउन पेमेन्टमा किन्न सकिने नयाँ कार आउँदै

काठमाडौं । नेपालमा महंगो मूल्यको कारण कार धेरै मानिसको कल्पना भन्दा बाहिरको बस्तु बनिरहेको समयमा चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले करिब ४ लाख रुपैयाँ डाउन पेमेन्टमा किन्न सकिने कार ल्याउने भएको छ । कम्पनीले ‘जीयाङ्सु हाउजी अटो’ले उत्पादन गरेको ‘आमाई’ मिनी ईभी नेपाल ल्याउने भएको हो ।

यसको मूल्य करिब २० लाख रुपैयाँ रहने सिजी मोटर्स स्रोतले जानकारी दिएको छ । यसरी हेर्दा मूल्यको २० प्रतिशत डाउन पेमेन्टमा ईभी किन्न पाइने भएको कारण करिब ४ लाख डाउन पेमेन्ट गर्दा पुग्ने छ । थ्री डोर रहेको यो सानो कारमा चालक सहित ४ जनाले यात्रा गर्न सक्नेछन् ।

आमाई मिनी ईभीमा १८.४३ किलोवाट आवरको लिभियम आयोन ब्याट्री प्याक दिइएको छ । यसमा रहेको ब्याट्रीलाई एक पटक फुल चार्जमा २२५ किलोमिटरसम्म गुडाउन सकिने सिजी मोटर्स स्रोतले जानकारी दियो । अगाडि र पछाडि नै मोटर दिइएको कारमा २४ किलोवाट क्षमताको मोटर छ । कारको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

मिनी कार भएर पनि यसमा ठूलो साइजको १५ इन्चको ह्वील छ । आकर्षक रेट्रो डिजाइनमा रहेको हाउजीको मिनी कारमा दुईवटा राउण्ड क्रिस्टल प्रोजेक्सन हेडलाइट र राउण्ड आकारमै दिइएको डीआरएल पाउन सकिन्छ । कारको वाहिरी आवरणमा आकर्षक क्लियर एज र कर्नर रहेको छ । फ्रन्ट र टेल डिजाइनमा दिइएको डिजाइन लाइनले कारलाई एसयूभी लुक्स दिन सफल भएको छ ।

म्युजिक सिस्टम, एयर कण्डिसन डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र वाईफाई तथा व्लुटुथ सपोर्ट गर्ने ९ इन्चको सेन्ट्रल कन्ट्रोल सिस्टम पाउन सकिन्छ । यसमा चार फरक फरक तरिकाले एड्जस्ट गर्न सकिने ड्राइभर र प्यासेन्जर सिट पनि रहेको छ ।

कम्पनीले मिनी कारमा सिट तथा स्टेरिङ ह्वीलमा लेदरको प्रयोग गरेको कारण क्याविन समेत प्रिमियम देखिएको छ । मिनी कारको लम्बाई ३४४४ एमएम, उचाई १५३५ एमएम, चौडाई १५५० एमएम र ह्वीलवेस २३५० एमएम रहेको छ ।


Back_to_top