मोटरसाइकलमा पेट्रोल र ईभीको विकल्प खोज्दै ४ जापानी ब्राण्ड

काठमाडौं । विश्वका चार चर्चित मोटरसाइकल उत्पादक कम्पनी होन्डा, यामाहा, सुजुकी र कावासाकी मिलेर पेट्रोल र इलेक्ट्रीकको विकल्प खोजी थालेका छन् । यी चारवटै ठूला मोटरसाइकल तथा स्कुटर निर्माता जापानी कम्पनी हुन् । यिनीहरुको प्रस्तावलाई जापान सरकारले स्वीकृति दिएको छ ।

चार कम्पनीको प्रस्तावलाई जापानी अर्थ, ब्यापार र उद्योग मन्त्रालयले स्वीकृत दिएसँगै ‘हाइड्रोजन स्मल मोविलिटी एण्ड इन्जिन टेक्नोलोजी’ (एचवाईएसई)को काम अगाडि बढेको हो । पेट्रोलको विकल्प खोज्नु पर्ने र विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको प्रयोग सहज नभएको भन्दै जापानी जाइन्ट कम्पनीहरुले हाइड्रोजन फ्यूल सेलमा आधारित इन्जिन डेभलपमेन्ट सुरु गरेका हुन् ।

सहकार्यमा जुटेका चार वटै कम्पनीले कामको बाँडफाँड पनि गरेका छन् । जसमा होन्डाले मोडलमा आधारित हाइड्रोजन इन्जिनको विकासमा काम गर्नेछ । त्यस्तै सुजुकीले हाइड्रोजन इन्जिनको उपयोगिता, पर्फमेन्स र विश्वसनियताको विषयमा रिसर्च गर्ने काम गर्नेछ ।

त्यसैगरी, यामाहा र कावासाकीले यस्ता इन्जिनको प्रयोग, परीक्षण र बजारीकरणमा काम गर्नेछन् । साथै, यामाहाले हाइड्रोजन रिफिल सेन्टर र मोटरसाइकलमा प्रयोग गर्ने हाइड्रोजन ट्याङ्कको विषयमा काम गर्नेछ । कावासाकीले भने हाइड्रोजन इन्धन सप्लाई सिस्टम र इन्जेक्टर निर्माणमा काम गर्नेछ ।

यी चारवटै कम्पनीले आवश्यक टेक्नीकल सपोर्ट भने कावासाकी हेभी इन्डष्ट्रीज र टोयोटा मोटर्स कर्पोरेशनबाट पाउने छन् । यी दुबै कम्पनीले यो प्रोजेक्टमा स्पेशल मेम्बरको रुपमा रहेर सहयोग गर्नेछन् । कावासाकी हेभी इन्डष्ट्रीजसँग ‘सीओटु–फ्रि हाइड्रोजन इनर्जी सप्लाई–चेन टेक्नोलोजी रिसर्च एशोसिएसन’ छ । त्यसले नलेज सेयरिङ काम गर्नेछ भने टोयोटा हाइड्रोजन फ्यूलसेलमा सबैभन्दा धेरै रिसर्च र डेभलपमेन्ट गर्दै आएको कम्पनी हो ।


Back_to_top