टेस्ला मोडल एक्सलाई टक्कर दिने एसयूभी, मूल्य आधा कम

काठमाडौं । टेस्ला मोडल एक्स जस्तै लाग्ने एसयूभी ६६ प्रतिशत कम मूल्यमा चिनियाँ बजारमा सार्वजनिक भएको छ । चिनियाँ ब्राण्ड ग्वान्जाओ अटोमोवाइल कर्पोरेशनको एवोन अन्तर्गतको ‘हाइपर’ सब ब्राण्डमा आएको ‘एचटी’ मोडल ३० हजार डलर सुरुवाती मूल्यमा उपलब्ध हुने भएको हो ।

कम्पनीले ‘हाइपर एचटी’ मोडललाई मिड साइज एसयूभीको रुपमा बजारमा ल्याएको हो । यसको लम्बाई ४९३५ एमएम रहेको छ । साथै, चौडाई १९२० एमएम र उचाई १७०० एमएम छ । यसमा २९३५ एमएम लामो ह्वीलबेस दिइएको छ ।

कम्पनीले ३० हजार डलरमा सार्वजनिक गरेको इन्ट्री भेरियन्ट रियर ह्वील ड्राइभ भर्सन हो । यसको टप भेरियन्टमा टेस्ला मोडल एक्स जस्तै रहेको कारण यसले चीनमा निकै ठूलो चर्चा पाएको देखिन्छ । टेस्ला मोडल एक्स अलह्वील ड्राइभको मूल्य १ लाख डलर हाराहारी रहेको छ । एचटीको समान फिचर भएको भेरियन्टको मूल्य ५३ हजार डलर रहेको छ ।

हाइपर एचटीको इन्ट्री भर्सनमा १८० किलोवाट क्षमताको मोटर दिइएको छ । यसको पीकटर्क भने ३५५ एनएम रहेको छ । यसले सून्यबाट १०० किलोमिटरको रफ्तार भेट्टाउन ६.८ सेकेन्ड लगाउँछ । यसको अल ह्वील ड्राइभ भर्सनमा २५० किलोवाटको मोटर छ । यसले ४३० एनएम टर्क प्रदान गर्छ ।

कम्पनीले यसलाई दुई फरक प्लेटफर्ममा बनाएको हो । कम मूल्यको इन्ट्री भेरियन्ट ४०० भोल्टमा बनेको हो । तर, यसको टप भेरियन्टभने ८०० भोल्ट आर्किटेक्चरमा बनेको छ । यसले सिंगल चार्जमा ६०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

इन्ट्री भेरियन्टलाई नै १० मिनेट चार्ज गर्दा १४० किलोमिटर गुड्न पुग्ने रिचार्ज हुनेछ । ८०० भोल्टमा बनेको टप भेरियन्टले ६७० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । यसलाई १५ मिनेट चार्ज गर्दा ४१५ किलोमिटर गुडाउन पुग्ने चार्ज हुनेछ ।

टेस्ला मोडल एक्सको जस्तै माथि ढोका जाने मोडलले सिंगल चार्जमा ७७० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसलाई १० मिनेट चार्ज गर्दा ४५० किलोमिटर रेन्ज दिन्छ ।


Back_to_top