काठमाडौं । हुन्डाई मोटर्सको नेपालको लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक साताभित्र काठमाडौंको तीन कुनेमा क्विक सर्भिस स्टेशन संचालनमा ल्याउने भएको छ ।
हुन्डाईका ग्राहकले समस्या अनुरुपको सेवा तत्काल पाउन भन्ने उद्देश्यले उक्त सर्भिस सेन्टर संचालनमा ल्याउन लागिएको कम्पनीका सर्भिस म्यानेजर दिपक थपलियाले जानकारी दिए ।
‘अधिकांश वर्कशपमा ग्राहकलाई घन्टौं कुराइन्छ । यो वर्कशपमा सेलेक्टेड कामको आधारमा तुरुन्त सर्भिस दिने व्यवस्था गर्दैछौं, जसले ग्राहकको समय बचत होस् ।’ थपलियाले मेरोअटो डटकमसँग भने ।
लक्ष्मी हुन्डाईले सवारी साधनको बिक्री पश्चात् उत्कृष्ट सर्भिसिङको सुविधा दिन आफ्ना बिक्री केन्द्रको अलावा छुट्टै सर्भिस सेन्टरहरुको निर्माणलाई समेत जोड दिदै आएको छ । नेपालमा नै पहिलो पटक कम्पनीले बिक्रीपछिको सेवामा ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सुविधा दिँदै आएको कम्पनीले दाबी गरेको छ ।
यस्तो छ सेवा
कम्पनीले हार्डवेयर, सफ्टवेयर र ह्युमन रिसोर्समार्फत आधुनिक र परिष्कृत सेवा प्रदान गर्दै आएको जनाएको छ । साथै कम्पनीले वर्कशपलाई समयानुकल आधुनिकिकरण गर्न हार्डवेयरलाई परिस्कृत गर्न, सफ्टवेयर तथा दक्ष कामदारमार्फत सर्भिसिङ सेवा दिन कुनै कसर बाँकी नराख्ने जनाएको छ ।
‘मोबाइल एप्लीकेशनमार्फत जानकारी दिने, बुकलेट मार्फत अपडेट गर्ने जस्ता सुविधा दिदँै आएका छौं । ह्युमन रिसोर्स डेभलपमेन्ट अन्तर्गत वर्कशपमा कार्यरत कामदारको क्षमता अभिवृद्धि गर्न तालिम दिने गरेका छौ’ सर्भिस म्यानेजर थपलियाले भने ।
उनका अनुसार सवारीसाधन, कार ब्रान्ड र ब्रान्डको अटोपार्टस् बारे राम्रो ज्ञन भएका जनशक्ति छनोट गरेर वर्कशपमा राखिएको छ । बेला बेलामा विदेशबाट प्रशिक्षक झिकाई वर्कशपमा नै तालिम दिने व्यवस्था गरिएको छ ।
कहाँ कहाँ छ सर्भिस सेन्टर ?
देशभरका १३ वटा डिलरसिप मार्फत सेल्स, सर्भिस र स्पेयर पार्टस्को सेवा दिदै आएको कम्पनीले काठमाडौं उपत्यका भित्र बसुन्धरा, कुपन्डोल, सिनामंगल र बानेश्वरमा गरि ४ स्थानमा सर्भिस सेन्टर संचालन गरिरहेको छ । साथै उपत्यका बाहिर बनेपा, बिर्तामोड, बिराटनगर, इटहरी, नारायणघाट, बुटवल, दाङ, नेपालगञ्ज र धनगढीमा गरि १३ डिलरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
कसरी निर्धारण गरिन्छ वर्कसप
कम्पनीले देशभर वार्षिक रुपमा कति सवारी साधन बिक्री गर्याे र बिक्री भएका गाडीको सर्भिसिङको अवधिबारे तथ्याङ्क राख्ने गर्छ । सोही आधारमा सर्भिस सेन्टरको क्षमता थप गर्दैजाने थपलियाले जनाए ।

