काठमाडौं । कोरियन निर्माता हुन्डाईले भारतको लागि सन् २०२३ मा माइक्रो एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने माइक्रो एसयूभी भेन्यूभन्दा केही सानो र मूल्य पनि कम हुने अनुमान गर्न सकिन्छ ।
कोरियन निर्माताले भारतमा बढ्दो एसयूभीको मागलाई सम्बोधन गर्न नयाँ एसयूभी ल्याउन लागेको हो । कोरियन बजारमा विक्री हुँदै आएको माइक्रो एसयूभी क्यास्परमा आधारित रहेर उत्पादन हुन लागेको नयाँ एसयूभी क्यास्परभन्दा साइजमा ठूलो हुनेछ ।
यसअघि दक्षिण कोरियामा मात्रै परिक्षण भइरहेको नयाँ माइक्रो एसयूभीको परिक्षण भारतमा पनि सुरु भएको छ । कम्पनीले जनवरी २०२३ बाट यसको भारतमा परिक्षण सुरु गरेको हो । अहिले परिक्षणको क्रममा विभिन्न मिडियाले यसको तस्विरसँगै त्यसमा रहने फिचरको विषयमा पनि जानकारी दिन थालेका छन् ।
दुई दिन अघि बाहिर आएको तस्बिर अनुसार यो मिनी एसयूभीमा १६ इन्चको फोर स्पोक ह्वील, सनरुफ जस्ता लग्जरी गाडीमा प्रयोग हुने फिचर देखिएको छ । हुन्डाईले यसमा विल्कुलै फरक डिजाइनको ह्वील प्रयोग गरेको हो । हेडलाइटमा शान्ता–फेबाट प्रेरित एच आकारको एलइडी लाइटको प्रयोग, प्रोजेक्टर हेडल्याम्प, बडी क्याडलिङ, रुफरेल यसमा पाउन सकिन्छ ।
हुन्डाई भेन्यूमा जस्तै अटोमेटीक एसी, इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, भ्वाइस कमाण्ड फिचर समेत यसमा उपलब्ध हुनेछ । कम्पनीले यो माइक्रो एसयूभीलाई ३६०० एमएम लामो साइजमा ल्याउने छ । जुन कोरियन बजारमा उपलब्ध क्यास्परभन्दा २३० एमएम बढी लामो छ । हुन्डाईको चर्चित कप्पा इन्जिनको प्रयोग हुने यो एसयूभीमा सम्भवत भेन्यूमा नै रहेको १.२ लिटर क्षमताको नेचुरल्ली एस्पीरेटेड इन्जिन प्रयोग हुनेछ । साथै, १.० लिटर टर्बो इन्जिनमा पनि माइक्रो एसयूभी आउन सक्नेछ ।
आगामी चाडपर्वको अवसर पारेर हुन्डाईले यसलाई भारतीय बजारबाट विक्री सुरु गर्ने अनुमान गरिएको छ । भारतमा विक्री सुरु भएको केही महिना भित्रै यो माइक्रो एसयूभी नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।

