हुन्डाई अल्काजारमा २.० लिटर पेट्रोल इन्जिन हुने

काठमाडौं । हुन्डाईको सात सिट क्षमताको नयाँ एसयूभी अल्काजारमा २.० लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध हुने भएको छ । कम्पनीले भारतमा उत्पादन गर्न लागेको नयाँ ७ सिट क्षमताको एसयूभीमा टुसानमा प्रयोग भएको पेट्रोल इन्जिन दिन लागिएको हो ।

अटोकार इन्डियाले यसको इन्जिन र गियरबक्स सम्बन्धी रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार २.० लिटर क्षमताको पेट्रोल र १.५ लिटर क्षमताको डिजेल इन्जिन अल्काजारमा हुने छ ।

२.० लिटर इन्जिनले अधिकतम १५२ हर्सपावर प्रदान गर्ने छ भने यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर्र अटोमेटिक गियरबक्स दिइने छ । तर, कम्पनीले यसमा दिन लागेको डिजेल इन्जिन भने अहिले क्रेटामा उपलब्ध इन्जिन नै हुने छ । उक्त इन्जिनले अधिकतम ११५ हर्सपावर प्रदान गर्नेछ । यद्यपी यो इन्जिनलाई कम्पनीले केहि परिमार्जन भने गर्नेछ ।

अबको केहि दिनपछि ग्लोवल प्रिमियर हुन लागेको हुन्डाईको यो नयाँ एसयूभी अहिले निकै चर्चामा रहेको छ ।


Back_to_top