काठमाडौं । गत महिना भारतीय बजारमा कोरियाली कार निर्माता कम्पनी हुन्डाईले क्रेटाको नयाँ भर्सन फेसलिफ्ट सार्वजनिक गर्यो । उक्त कारको सुरुवाती मूल्य ९ लाख ४३ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
हुन्डाई इन्डियाकाअनुसार क्रेटा फसलिफ्ट १० दिनमा १४ हजार ३ सय ६६ वटा बुकिङ भएको छ भने ७० हजारभन्दा बढीले सोधपुछ गरेका छन् ।
क्रेटा कार आफैँमा निक्कै लोकप्रिय मोडलको रुपमा स्थापित भइसकेको छ । भारतमामात्र होइन, हुन्डाई क्रेटा नेपाली बजारमा समेत लोकप्रिय रहेको छ । नयाँ क्रेटा फेसलिफ्टमा परिमार्जित विशेषताहरूसमेत समावेश भएकाले उपभोक्ताहरू आकर्षित भएको कम्पनीले जनाएको छ ।
क्रेटा फेसलिफ्टमा हेड ल्याम्प र बम्पर परिवर्तन भएको छ । नयाँ डिजाइनमा १७ इञ्च एलो ह्वील रहेको छ । क्रेटा तीन इञ्जिन अप्सनमा उपलब्ध रहेको छ जसमा १.४ लिटर पेट्रोल इञ्जिनले ९० पीएस पावर दिन्छ । त्यस्तै, १.६ लिटर पेट्रोल इञ्जिनले १२८ बीएचपी पावर र १५० एनएम टर्क दिन्छ र १.६ लिटर डिजेल इञ्जिनले १२१ बीएचपी र २६५ एनएम टर्क दिन्छ ।
१.४ लिटर इञ्जिन म्यानुअल ट्रान्समिसन र अन्य इञ्जिन म्यानुअल तथा अटोमेटिक ट्रान्समिन दुबैमा उपलब्ध रहेको छ ।
१.६ लिटर पेट्रोल इञ्जिनले १७ किलोमिटर प्रतिलिटर र डिजेल इञ्जिनले २० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ । क्रेटा फेसलिफ्ट ७ सिंगल टोन र २ वटा ड्यूल टोन कलरमा उपलब्ध छ ।
नयाँ क्रेटामा ३ वर्षका लागि असीमित किलोमिटर वारेन्टी प्रदान गरिएको छ । जुन हालसम्म यही सेगमेन्टमा अन्य कम्पनीहरूले दिएका छैनन् । क्रेटा फेसलिफ्टको मूल्य भारतीय बजारमा ९ लाख ४० हजारदेखि १५ लाख ४ हजार भारतीय रुपैयाँसम्म रहेको छ ।