हुन्डाईले सानो साइजको इलेक्ट्रीक क्रसओभर मोडल ल्याउने

काठमाडौं । विश्वभर विद्युतीय कारको माग उच्च भएसँगै कोरियन अटो जाइन्ट हुन्डाईले सानो साइजको इन्ट्री लेभल इलेक्ट्रीक क्रसओभर कार बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्ट ‘कारस्कुप डटकम’ले प्रकाशित गरेको छ । यद्यपि, हुन्डाई मोटर ग्रुपले भने यस विषयलाई कुनै आधिकारीक पुस्टि गरेको छैन ।

कोरियन बजारमा हुन्डाईले बिक्री गर्दै आएको क्यास्पर माइक्रो एसयूभी मोडलमा आधारित रहेर हुन्डाईले नयाँ मोडल ल्याउन लागेको कारस्कुपको रिपोर्टमा दावी गरिएको छ ।

कम्पनीले भारतीय बजारमा सार्वजनिक गर्न लागेको एक्सटर मोडलसँग धेरैहदसम्म मिल्दोजुल्दो तस्बिर रेन्डर गरेर तयार गरिएको इलेक्ट्रीक मोडल विशेषत यूरोपियन बजारलाई ध्यानमा राखेर तयार गर्न खोजेको देखिन्छ । झण्डै २० हजार पाउन्ड हाराहारी मूल्यमा बजारमा आउने यो मोडल एक्सटर माइक्रो एसयूभीमा नै आधारित रहने छ ।

हुन्डाईले एक्सटरबाट यसको बडी डिजाइन लिने अनुमान गर्न सकिन्छ । त्यस्तै यसमा धेरै फिचर आयोनीक फाइभ र नयाँ जेनेरेशन कोनाबाट दिएर तयार गर्नेछ । यसको हेडल्याम्प, फ्रन्ट डिजाइन र पछाडिको भाग धेरै हदसम्म एक्सटरसँग मिल्दो देखिन्छ ।

हुन्डाईको इ-जिएमपीए आर्किटेक्चरमा बन्ने यो क्रसओभर मोडल निकै लोभलाग्दो देखिएको छ । यसको टेक्नीकल डिटेलको बारेमा भने रिपोर्ट मौन । सम्भवत यसमा अहिले बजारमा उपलब्ध कोनाकै साइजको ब्याट्री र मोटर उपलब्ध हुनेछ ।

सिंगल चार्जमा ३०० किलोमिटर माथि रेन्ज दिने ३९.२ किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर यसमा रहने छ । कम्पनीले सन् २०२३ को अन्तिमसम्ममा यसलाई ग्लोवल प्रिमियर गर्ने र २०२४ को सुरुवातबाट बजारमा बिक्री थाल्ने अनुमान गरिएको छ ।


Back_to_top