काठमाडौं । आफ्नो सवारीसाधन बिग्रेर बाटोमा कठिनाई भोग्नु परेको छ भने अब त्यस्तो कठिनाईबाट तपाई मुक्त हुनसक्नु हुन्छ । इन्स्टिच्यूट अफ अटोमोटीभ इन्जिनिर्यस् (आइएइ) नेपालले ‘रोडसाइड एसिस्टेन्स सर्भिस’को सुरुवात गरेको छ ।
यदी तपाईको गाडी अर्को गाडीको सहायताले वा पुरै बोकेर वर्कसप लानुपर्ने अबस्था आएको छ भने, अब त्यसकोलागि तपाईले आइएइ नेपालमा सम्पर्क गर्न सक्नु हुने छ । आइएइ नेपाल एउटा गैरनाफा मुलक संस्थाको रुपमा स्थापना भएको संस्था हो । यसले उपत्यकामा ८ वटा वर्कसपसँग ब्यवसाय गर्ने समझदारी गरेर काम सुरु गरेको छ । छिट्टै उपत्यका बाहिर कम्तीमा ३० वटा वर्कशपसँग सम्झौता गरेर अगाडि बढ्ने जानकारी दिइएको छ ।
आजबाट यो सेवाको सुरुवात गरिएको हो । सातै दिन, २४ सैघन्टा सेवा प्रदानगर्ने गरि तयार गरिएको यो सेवाको सुभारम्भगर्दै नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले यो सेवाले धेरै मानिसले सुविधा पाउनेमा आफु विस्वथ रहेको बताए ।
‘यो निकै चुनौति पूर्णकाम हो तपाईहरुले सेवाभावले सुरु गर्नुभएको छ, आउने चुनौतिलाई चिर्दै अगाडि बढ्न सफलता मिलोस्’ उनले भने ।
नासाका महासचिब गोबिन्द भट्टराईले यसको आवस्यकतालाई बुझेर सेवा सुरुवात गरेकामा आईएइलाई धन्यवाद दिए । उनले नासा सदैब मिलेर कामगर्न तयार रहेकोसमेत जानकारी दिए ।
कति लाग्छ खर्च ?
कुनैपनि सवारीसाधनलाई लिफ्ट गरेर वर्कसम्म ल्याउनको लागि न्यूनतम शुल्क ८ हजार रुपैयाँ तोकिएको छ । ३० किलोमिटरसम्मको लागि यसमा अन्य कुनै खर्च लाग्ने छैन । यदि ३० किलोमिटर माथी र ६० किलोमिटर भित्रको डिस्टाइन्स छ भने, ८ हजारमा थप प्रतिकिलोमिटर २०० रुपैयाँ लाग्ने छ ।
६० किलोमिटर देखि २०० किलोमिटरसम्मको दुरीमा ८ हजारको अतिरिक्त १७५ रुपैयाँ प्रतिकिलोमिटर खर्च लाग्ने छ । यदी २०० किलोमिटरभन्दा बढी छ भने ८ हजारमा थप १५० रुपैयाँ प्रतिकिलोमिटरले थप हुँदै जानेछ ।