चार महिनापछि १७ मोडलको कार बन्द हुँदै, यस्तो छ कारण

काठमाडौं । विभिन्न कम्पनीले उत्पादन गर्दै आएका ह्याचव्याक, सेडान र एसयूभीहरु भारतमा लागु हुन लागेको ‘रियल ड्राइभिङ इमिशन’ (आरडीई) मापदण्डको कारण बन्द हुने अवस्था आएको छ ।

अटोकार इन्डियाले प्रकाशन गरेको रिपोर्ट अनुसार ‘आरडीई’ बीएस ६ मापदण्डको दोस्रो फेज हो । यसमा गाडीको परिक्षण बाटोमा गुड्दा गुड्दै र ल्याव दुबै स्थानमा हुनेछ । यसले गाडीको प्रदुषण चेक सहि तरिकाले हुने बताइएको छ ।

परिक्षणको क्रममा ब्यस्त सडकमा चलाउदा गर्ने प्रदुषण, तिब्र गतिमा चल्दा गर्ने प्रदुषण र गति कम गर्ने क्रममा एक्सीलेरेटरबाट खुट्टा हटाउँदा हुने प्रदुषण परिक्षण हुनेछ । यसलाई नै रियल ड्राइभिङ इमिशन (आरडीई) मापदण्ड भनिएको हो ।

यसको लागि कार उत्पादकहरुले इन्जिन डेभलपमेन्टमा ठूलो धनराशी खर्च गर्नु पर्ने अवस्था आएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । भारत सरकारले अप्रिल २०२३ बाट नै यो नियम लागु गर्न लागेको कारण विभिन्न कम्पनीका उत्पादन बन्द हुने अवस्थामा पुगेका हुन् ।

१७ मोडलको उत्पादन बन्द हुन सक्ने

हुन्डाईका दुई मोडल बन्द हुन सक्ने अवस्था देखिन्छ । कम्पनीले उत्पादन गरिरहेको आई २० डिजेल र भर्ना डिजेलको उत्पादन बन्द हुनेछ । यी दुबै मोडल पेट्रोल इन्जिनमा भने निरन्तर रहने छन् ।

टाटाको पनि डिजेल इन्जिनमा उपलब्ध अल्ट्रोज प्रिमियम ह्याचव्याक मोडलको उत्पादन बन्द हुनेछ । पेट्रोल इन्जिनमा उपलब्ध अल्ट्रोज भने निरन्तर बजारमा रहने छ ।

महिन्द्राले तीन मोडलको उत्पादन बन्द गर्नेछ । यी तीन मोडलमा मराजो, अल्टुसर र केयूभी १०० हुन् । मराजो नेपाल आएपनि अहिले केयूभी १०० र अल्टुरस नेपालमा उपलब्ध छैनन् ।

त्यसैगरी स्कोडा अक्टीभीया र सुपर्व, रेनो क्वीड ८००, निसान किक्स, मारुती सुजुकी अल्टो ८००, टोयोटा इनोभा क्रिष्टा पेट्रोल, चौथो जेनेरेशन होन्डा सिटी, ५ औं जेनेरेशन होन्डा सिटी डिजेल बन्द हुनेछ । तर, ५ औं जेनेरेशन सिटीको पेट्रोल भर्सन भने निरन्तर रहने छ ।

होन्डाकै अन्य मोडलमा अमेज डिजेल, ज्याज र डब्लूआर-भीको पनि उत्पादन बन्द हुनेछ ।

बन्द हुने धेरै डिजेल इन्जिन

‘रियल ड्राइभिङ इमिशन नम्स (आरडीई)मा इन्जिनलाई अपग्रेड गर्दा पेट्रोलको तुलनामा डिजेल इन्जिनमा धेरै खर्च हुने भएको कारण अधिकांश ब्राण्डले डिजेल इन्जिन बन्द गर्न लागेका हुन् । विशेषगरी ‘सेलेक्टीभ क्याटलीटीक रिडियूस’ (एससीआर) विधिको प्रयोगबाट प्रदुषण कन्ट्रोल गर्नु पर्ने भएकोले यसमा धेरै खर्च लाग्ने छ ।

विश्व अटोमोवाइल बजार क्लीन इनर्जी भेहिकलतर्फ केन्द्रित रहेको कारण पनि डिजेल इन्जिनलाई कम्पनीहरुले प्राथमिकता नदिएको हुन सक्छ ।


Back_to_top