काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी)को बजार हिस्सा बढ्दो क्रममा रहे पनि भारतमा भने निरन्तर ओरालो लागिरहेको छ । सन् २०२४ को सेप्टेम्बर महिनामा ईभी बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.८४ प्रतिशतले घटेको छ ।
सन् २०२३ को सेप्टेम्बरमा ६ हजार १०९ युनिट ईभी बिक्री भएकोमा यस वर्षको सोही महिनामा ५ हजार ८७४ युनिटमा सीमित भएको छ ।
भारतीय बजारमा ग्यासोलिनभन्दा इलेक्टीक भेहिकलको मूल्य महँगो हुँदा ईभीको बिक्री लगातार घट्दो क्रममा रहेको हो ।
भारतीय बजारमा सन् २०२४ को मार्चमा सबैभन्दा धेरै ९ हजार ६६१ युनिट ईभी बिक्री भएको थियो । अगस्टमा ६ हजार ६३० युनिटमा झरेको ईभी बिक्री सेप्टेम्बरमा आइपुग्दा ५ हजार ८७४ युनिटमा सीमित भएको हो ।
सेप्टेम्बरमा भारतमा सबैभन्दा ठूलो ईभी पोर्टफोलियो रहेको टाटा मोटर्सकै बिक्री १६.२६ प्रतिशत घटेको छ । गत वर्षको सेप्टेम्बरमा ४ हजार ३२५ युनिट बिक्री भएको टाटाको ईभी यो वर्षको सेप्टेम्बरमा ३ हजार ६२१ युनिट मात्र बिक्री भएको हो । टाटाटको प्यासेन्जर ईभीको बजारमा सेप्टेम्बर महिनामा ६१.६४ प्रतिशत मात्र हिस्सा रहेको छ ।

टाटा मोटर्सले यो फेस्टिबल सिजनमा बिक्री बढाउनका लागि अक्टोबर ३१ सम्मका लागि नेक्सन ईभीमा ३ लाख, पन्च ईभीमा १.२० लाख, टियागो ईभीमा ४० हजारसम्मको छुट दिइरहेको छ । यसका अलावा कम्पनीले नयाँ ईभीका लागि ६ महिनासम्म टाटाको भारतभरमा रहेको ५ हजार ५०० टाटा पावर चार्जिङ पोइन्टमा फ्री चार्जिङ अफर समेत दिइरहेको छ ।
एमजी मोटर इण्डियाले भारतीय बजारमा कोमेट र इजेडएस गरि २ युनिट ईभी बिक्री गरिरहेको छ । कम्पनीको बिक्री भने अघिल्लो वर्षको भन्दा ९.१६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सेप्टेम्बरमा एमजीले ८९५ युनिट ईभी बिक्री गरकोमा यस वर्ष ९७७ युनिट ईभी बिक्री गर्न सफल भएको छ । कम्पनीले भारतीय बजारको लागि तेस्रो ईभी विण्डसन समेत हालै लन्च गरेको छ । एमजीको भारतीय ईभी बजारको सेप्टेम्बरको मार्केट सेयर १६.६३ प्रतिशत रहेको छ ।

भारतको तेस्रो ईभी ब्राण्ड महिन्द्राको बिक्री अघिल्लो वर्षको तुलनामा २६.८२ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो वर्ष सेप्टेम्बरमा ३५८ युनिट ईभी बिक्री गरेकोमा यस वर्ष ४५४ युनिट एक्सयूभी ४०० बिक्री गर्न सफल भएको हो । महिन्द्राको भारतीय बजारमा जम्मा एक मोडल एक्सयूभी ४०० मात्र उपलब्द रहेको छ । महिन्द्राले यो वर्षकोे पहिलो ९ महिनामा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतको बिक्री बढाएको छ । कम्पनीले अघिल्लो ९ महिनामा २ हजार ७५४ युनिट ईभी बिक्री गरेकोमा यस वर्षको ९ महिनामा ५ हजार १०८ युनिट ईभी बिक्री गरेको हो ।
भारतीय बजारमा धेरै बिक्रीको र्याङ्किङमा सिट्रोन चौथो नम्बरमा रहेको छ । कम्पनीले यो वर्षको सेप्टेम्बर महिनामा ३८६ युनिट ईसीथ्री बिक्री गरेको हो । सिट्रोनले पछिल्लो समयमा फ्लिटमा ईसीथ्री बिक्री गरिरहेकोले बिक्री बढेको बताइएको छ । सिट्रोनले चालु वर्षको ९ महिनामा अघिल्लो वर्षको भन्दा ७५ प्रतिशतले बिक्री बढाउन सफल भएको हो । कम्पनीले गत वर्षको ९ महिनामा १ हजार ४५५ युनिट बिक्री गरेकोमा यस वर्ष १ हजार ९४७ युनिट बिक्री गरकोे हो ।

भारतको ईभी बजारमा पाँचौ खेलाडीको रुपमा चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाईडी प्रवेश गरेको छ । बीवाइडीले भारतमा एटो३ एसयूभी, ई६ एमपीभी, सिल सेडान बिक्री गरिरहेको छ । कम्पनीले यो वर्ष १६३ युनिट ईभी बिक्री गरेको हो । अघिल्लो वर्षको यहि महिनामा बीवाइडीको १५१ युनिट ईभी बिक्री भएको थियो ।
हुन्डाई मोटर्सले भारतमा आयोनिक ५ र कोना ईभी बिक्री गर्दै आएको छ । कम्पनीले सेप्टेम्बरमा जम्मा २६ युनिट ईभी बिक्री गरको छ । हुन्डाईको ईभी बिक्री यो वर्षको ९ महिनामा २६ प्रतिशतले घटी रहेको छ । गत वर्ष ९ महिनामा १ हजार ११६ युनिट बिक्री भएकोमा यो वर्ष सोहि अवधिमा ८२३ युनिट मात्र बिक्री भएको हो ।

यसका अलावा लग्जरी ईभी सेग्मेन्टमा बीएमडब्लू इण्डिायाले १०६ युनिट, मर्सिडिज बेन्जले ८१ युनिट, भल्भो अटो इण्डियाले १५ युनिट, किया इण्डियाले १७ युनिट, अउडीले ११ युनिट, अन्य ब्राण्डहरूले १७ युनिट ईभी बिक्री गरेका छन् ।


