विद्युतीय सवारी किन्नेलाई थप सुविधा दिन्छौं : मेयर अशोक ब्याञ्जुको अन्तर्वार्ता

काठमाडौं । विश्वकै शून्य कार्बन उत्सर्जन गर्ने १५ सहरमध्ये पाँचौ स्थानमा रहेको धुलिखेल नगरपालिकाले सन् २०३० सम्ममा यो लक्ष्य प्राप्त गर्ने योजना अगाडि सारेकाे छ । यससँगै धेरैको चासो नगरपालिकाले आगामी दिनमा गर्ने काम कस्तो हुन्छ भन्ने  रहेको पाइन्छ ।

नगरपालिकाले अहिलेसम्म के–के काम गरेर शून्य कार्बन उत्सर्जन गर्ने १५ सहरमा पर्न सफल भएको हो र अब सन् २०३० सम्म के कस्ता काम गर्ने तयारी गरेको छ भन्ने विषयमा नगरपालीकाका मेयर अशोककुमार ब्याञ्जुसँग मेरोअटोले गरेको कुराकानीको सम्पादीत अंशः

शून्य कार्बन उत्सर्जनको लागि नगरपालिकाले कसरी काम गर्दैछ ?

धुलिखेल नगरपालिकाले आफ्ना नागरिकको शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएर लगानी गर्दै आएको छ । हामीले नगर भित्र ‘एक घर, एक धार’, एक वडा ५ पार्क, हरेक वडामा स्वास्थ्य चौकी’ जस्ता कार्यक्रम संचालन गरिरहेका छौं । यहाँको वातावरण प्रदुषण हुन नदिन हामीले बिल–म्यालेन्ड गेट्स फाउन्डेसनसँग मिलेर यहाँका घरबाट निस्कने डल प्रशोधन गर्दै आएका छौं । अहिले नगर भित्रका ७१ प्रतिशत घरबाट निस्कने डल प्रशोधन भइरहेको छ ।

मानिस तथा अन्य जनावरको दिसालाई व्यवस्थापन गर्ने क्रममा ग्यास प्लान्टको अवधारण अगाडि ल्याएर काम सुरू गर्न लागेका छौं । अहिले ३९ प्रतिशत रहेको जंगलको क्षेत्रलाई ४० प्रतिशत पुर्याउन १ लाख विरुवा रोपेका छौं । यी सबै कामले राम्रो परिणाम दिइरहेको छ ।

उद्योगलाई कसरी शून्य कार्बनसँग जोड्दै हुनुहुन्छ ?

त्यसको लागि नगरपालिकाले पष्ट योजना तयार गरिसकेको छ । धुलिखेल नगर भित्र खुल्ने कुनै पनि उद्योगले आफूलाई शून्य कार्बन उत्सर्जनमा लानै पर्छ । त्यसको लागि नगरपालिकाले लिने राजस्वमा १० प्रतिशत छुट दिने छौं । स्थानीय सरकारलाई तिर्ने त्यो १० प्रतिशत रकमले यो काम गर्नु पर्नेछ । अर्को विषय हामी पानी रिचार्जिङमा पनि काम अगाडि बढाउन गइरहेका छौं ।

यदि उद्योगले प्रयास नै गर्दा पनि कार्बन उत्सर्जन कम गर्न सकिने छैन भन्ने हो भने हामी त्यस्ता उद्योग धुलिखेल नगर भित्र खोल्न दिँदैनौं । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको मुद्दा सम्बोधन गर्नबाट पछि हट्न सकिँदैन ।

अर्को विषय हाम्रो धुलिखेलको सबैभन्दा ठूलो उद्योग भनेको पर्यटन हो । त्यसलाई नै कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरेर अगाडि बढेका छौं । दक्षिण एशियामै पहिलो पटक ‘जीवाष्मा इन्धन अप्रसार सन्धी’ कार्यान्वयनमा ल्याएकाले यहाँ हुने हरेक गतिविधि वातावरणसँग जोडिएर आउने छ ।

शून्य कार्बन उत्सर्जन गर्ने उत्कृष्ट ५ सहरमा परे पनि अरनिको र बीपी हाइवेबाट आउने सवारी साधनले गर्ने उत्सर्जनलाई कसरी लिनुभएको छ ?

हाम्रो लागि अहिलेको चुनौती नै यही हो । सवारी साधनको चाप बढी रहेको छ । बीपी हाइवे र अरनिको रार्जमार्गमा चल्ने सवारी साधनको विषयमा प्रदेश र केन्द्र सरकारसँग मिलेर कसरी काम गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा धेरै कोणबाट छलफल भएको छ । अबको केही महिना भित्रै हामी प्रस्ट प्लान तयार गर्नेछौं ।

विद्युतीय सवारी र विद्युत् प्रयोगमा कसरी काम गर्दै हुनुहुन्छ ?

विश्वभर विद्युतीय गाडीको प्रयोग बढ्दै गएको छ । नेपालमा पनि ट्याम्पो, मोटरसाइकल, स्कुटर, कारदेखि बससम्म विद्युतीय चल्न थालेका छन् । हामी त शून्य कार्बन उत्सर्जनमा काम गर्ने नगरपालिका भएको कारण थप काम गरिरहेका छौं ।

हामीले विद्युतीय गाडी चार्ज गर्न चार्जिङ स्टेशन निर्माणको लागि जग्गा उपलब्ध गराएका छौं । यहाँ खुलेका अधिकांश ठूला होटलहरुमा चार्जर राख्ने कामले तीव्रता पाएको छ । हामी विद्युतीय गाडी प्रयोग गर्ने उद्योग र उपभोक्तामा कस्तो किसिमको सुविधा दिन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं । चाँडै विद्युतीय कार किन्ने परिवारको लागि कुनै माध्यमबाट थप सुविधा दिन्छौं ।

अर्को हामीले दाउराको प्रयोग घटाउन नगर क्षेत्रमा बसोबास गर्ने विपन्न एक हजार परिवारलाई इन्डक्सन चुलो निःशुल्क उपलब्ध गराएका छौं । धुवाँ रहित चुलोमा पनि हामी काम गरिरहेका छौं । यी सबै कामले सन् २०३० भित्र शून्य कार्बन उत्सर्जन गर्ने सहरमा धुलिखेल पर्नेछ ।

 


Back_to_top