नेपालमा महिन्द्राको प्लान्ट लगाउने विषयमा छलफल भइरहेको छः संजय जाधवको अन्तर्वार्ता

काठमाडौंको भृकुटीमन्डपमा आयोजना भइरहेको ‘महिन्द्रा उदय’मा विशेष अतिथिको रुपमा महिन्द्रा एन्ड महिन्द्राबाट आएका भाइसप्रेसिडेन्ट हेडअफ इन्टरनेशनल अप्रेशन संजय जाधवसँग नेपाली बजारमा महिन्द्राको ब्रान्ड, बिस्तार र भावी योजनाका विषयमा मेरोअटोका लागि ब्रबिम बिक्रम थापाले गरेको कुराकानीको सारसंक्षपः 

महिन्द्राको नेपाल सम्बन्धकाबारेमा केही बताइदिनुस् न । महिन्द्राले आफ्नो ब्यावसायिक दर्शन ‘राइज’ (उदय)लाई नेपालमा कसरी ब्यावहारिकढंगले उतारेको छ ?

महिन्द्रा र नेपालको सम्बन्धकाबारेमा बताउनुभन्दा पहिले म महिन्द्रा ग्रुपकैबारेमा केही बताउन चाहन्छु । महिन्द्रा सन् १९४५ मा स्थापना भएको र अहिले निकै विस्तारित भैसकेको कम्पनी हो । हाम्रो अहिले २ लाखको हाराहारीमा कर्मचारी छन् भने कुल कारोबार रकम २० अर्ब डलरभन्दा बढी छ । हामी अहिले करिब २० वटा ब्यावसायिक क्षेत्रहरूमा विस्तारित भैसकेका छौँ । अटो क्षेत्रकै कुरा गर्ने हो भने हामी २ पाङ्ग्रे, ४ पाङग्रे, हलु्का–ठूला सवारीलगायत उत्पादन गरिरहेका छौँ । महिन्द्रा ट्याक्टर त विश्वमै पहिलो नम्बरमा छ । आईटी, निर्माण, वित्तीयलगायत क्षेत्रमा पनि हामी अगाडि बढिरहेका छौँ ।

नेपालको कुरा गर्दा हामी २५ वर्षभन्दा बढी समयदेखि यहाँ छौँ र ८ विभिन्न ब्यावसायिक क्षेत्रमा विस्तारित भएका छौँ । अग्नी ग्रुप र दुगड ग्रुप हाम्रा नेपाली साझेदारहरू हुन् । यसबीच हामीले धेरैभन्दा धेरै नेपालीहरूको माया र विश्वास जितेका छौँ । धेरै ब्यवसायहरूमा त हामी ‘मार्केट लिडर’ नै रहेका छौँ । यसका लागि हामी सबैलाई धन्यवाद दिन चाहन्छौँ ।

हाम्रो ब्यावसायिक दर्शन ‘राइज’को कुरा गर्दा ‘राइज’ समृद्धिको सांकेतिक अभिब्यक्ति हो । कसको समृद्धिभन्दा सबै सरोकारवालाहरूको समृद्धि । यहाँ नेपाली ग्राहकहरू हाम्रा सबैभन्दा ठूला सरोकारवालाहरू हुन् । तिनको समृद्धि हाम्रो ब्यावसायिक दर्शन हो । उदाहरणका लागि, कसैले ब्यावसायिक गाडी किन्यो भने उसको समृद्धि हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो । त्यो गाडीको माध्यमबाट ऊ धनी हुनुपर्यो, उसको जीवनस्तर माथि उठ्नु पर्यो । यसका लागि हामी गाडी बेच्ने र सर्भिस दिनेमात्र नभई उसको ब्यापार बढाउन पनि मद्दत गर्छौं । ऊ हाम्रा लागि ग्राहकमात्र नभएर ब्यावसायिक साझेदार पनि हो ।

तपाईंले बताउनुभयो कि तपाईंहरूको ब्यवसाय निकै विस्तारित छ । नेपालका लागि तपाईं कुन क्षेत्रमा बढी केन्द्रित हुनुहुन्छ ?

हामीले नेपालमा गाडी र ट्र्याक्टरबाट सुरु गरेका हौँ । तर, अहिले निर्माण सामग्री, जेनरेटर, इलेक्ट्रीक भेहिकललगायतका क्षेत्रमा पनि विस्तारित भैसकेका छौँ । यसमा हाम्रो रणनीति भनेको बजारको माग र हाम्रो क्षमताकाबीच तादम्यता खोज्नु नै हो ।

उदाहरणका लागि इलेक्ट्रीक भेहिकलमा भारतमा हामी अग्रगामी नै हौं । अनि सुखद् संयोग कस्तो पर्यो भने नेपाल सरकारले पनि इलेक्ट्रीक भेहिकललाई प्रोत्साहन गर्ने नीति अघि सार्यो, जसले हामीलाई यो क्षेत्रमा ब्यापार विस्तार गर्न प्रेरित गर्यो । हामी कुनै पनि क्षेत्रमा ब्यवसाय विस्तार गर्दा स्पष्ट रणनीतिकासाथ नै अघि बढ्छौँ ।

सूचना प्रविधिको विकाससँगै नेपालीहरूले जापानी वा यूरोपियन अटो बजारकाबारेमा पनि निकै बलियो पकड राख्न थालेका छन् ।

ट्र्याक्टरको कुरा पनि त्यस्तै हो । नेपालमा कृषि क्षेत्रको माग, आवश्यकता र यो क्षेत्रमा काम गर्ने युवाहरूको कमीको कारणले नै हामीलाई यहाँ ट्रयाक्टरको क्षेत्रमा काम गर्ने हौसला मिलेको हो । तर, हामी यहाँ ट्र्याक्टरको आपूर्तिकर्ताको रुपमा मात्र आएका होइनौँ । हामी किसानहरूलाई माटो जाँच्ने, बीउबिजन छान्ने र मलको प्रयोग गर्ने कुरामा पनि मद्दत गर्छाैं । हाम्रो रणनीति भनेकै अर्थपूर्णढंगले योगदान पुर्याउने हो ।

नेपाल पछिल्ला वर्षहरूमा ठूला आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनहरूको साक्षी भएको छ । यसले नेपालीहरूका मूल्य र मान्यताहरूमा धेरै परिवर्तन ल्याएको छ । यस्ता परिवर्तनहरूलाई आफूअनुकूल बनाउन तपाईंहरूले कुनै विशेषखाले रणनीतिहरू बनाउनुभएको छ ?

वास्तवमा यो निकै रोचक र महत्वपूर्ण प्रश्न हो भन्ने मलाई लाग्छ । नेपालमा हाम्रो २५ वर्षे ब्यावसायिक यात्रामा म आफैँ विगत १७–१८ वर्षदेखि नेपाल आइरहेको छु । नेपाल वास्तवमै निकै छिटो–छिटो परिवर्तन भइरहेको छ । शान्ति स्थापना र स्थायी सरकारसँगै नेपालले समृद्धिको बाटो समाउन थालेको छ । योसँगै नेपालीहरूको चाहना, आकांक्षा र रोजाइहरूमा पनि ब्यापक परिवर्तन आएको छ । यसलाई हामीले नजिकबाट नियालिरहेका छौँ । सूचना प्रविधिको विकाससँगै नेपालीहरूले जापानी वा यूरोपियन अटो बजारकाबारेमा पनि निकै बलियो पकड राख्न थालेका छन् ।

हामीले यो कुरा बुझेका छौँ । र, हाम्रा उत्पादनहरू र सेवाहरूलाई नेपाली ग्राहकहरूको आकांक्षाअनुरुप ढाल्न भरमजदूर प्रयास गरिरहेका छौँ । हामीलाई यसमा अलि सजिलो किन पनि छ भने भारत पनि तिब्र गतिमा परिवर्तन भैरहेको छ । भारत पनि समृद्धितर्फको यात्रामै छ । कार्बन उत्सर्जनका सम्बन्धमा चेतना र त्यसका लागि इलेक्ट्रीक भेहिकलको प्रयोगदेखि लिएर आफ्ना सुरक्षाका लागि ‘एयरब्याग’ भएको गाडीको छनोटलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

पछिल्लो समय महिन्द्राले साङयोङको ‘प्लेटफार्म’ प्रयोग गरेर ‘अल्टुरस’ र ‘एक्सयूभी–३००’ जस्ता एसयूभीहरूको उत्पादन गरिरहेको छ । यसले भारतीय र नेपाली ग्राहकहरूको मन जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?

कोरियनले प्रविधिमा निकै छलाङ मारिसकेका छन् । र, महिन्द्राले पनि धेरै ‘प्लेटफार्ममा’ आफूलाई अब्बल प्रमाणित गरिसकेको छ । दुवै कम्पनीहरू स्वतन्त्र र आफ्नैढंगले सञ्चालनमा रहेका छन् । यद्यपि, विभिन्न आधारहरूमा सँगै काम गर्ने रणनीतिहरू तय गरिएका छन् । केही ‘प्लेटफार्म’हरू संयुक्तरुपमा विकास गरिएका छन् । र, निकै राम्रो प्रविधि साटासाटको काम भएको छ । उदाहरणका लागि ‘अल्टुरस’ र ‘एक्सयूभी–३००’ संयुक्त उत्पादन हुन् । ‘प्लेटफार्म’ कोरियन हो, तर विकास महिन्द्राले नै गरेको हो ।

अब ‘सेल्स सर्भिस’ तर्फ लागौँ । यो क्षेत्रमा तपाईंहरूको केही भ्यागुते उफ्राईखालको विशिष्ट रणनीति छन् कि ?

त्यस्तो भ्यागुते उफ्राई रणनीति नै त होइन तर, ‘आफ्टर सेल्स सर्भिस’ को महत्वबारे भने हामी निकै सचेत छौँ । विश्व भूमण्डलीकृत भएको छ । र, प्रविधिको विकास तिब्र छ । कम्पनीहरूबीच प्रविधि साटफेर पनि चलेकै छ । यस्तो अवस्थामा उत्पादनको आधारमामात्र आफू अन्य प्रतिस्पर्धीभन्दा अब्बल र फरक देखिन सम्भव नै छैन । प्रविधि त सबैको पहुँचमा छ नि । त्यसैले आफूलाई प्रतिस्पर्धीभन्दा अलग देखाउन सकिने यो नै एउटा महत्वपूर्ण क्षेत्र हो । ग्राहकहरूलाई सेवा कसरी प्रदान गर्ने, उनीहरूसँग कस्तो ब्यवहार गर्ने र कस्ताखालका मूल्य र मान्यताहरू स्थापित गर्ने भन्ने निकै महत्वपूर्ण विषयहरू हुन् ।

यसका लागि हामीले सबै सरोकारवालाहरूको सामूहिक हितको अवस्था सिर्जना गर्ने रणनीति लिएका छौँ । हामीले सबै प्राविधिक र सेल्स कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिमहरू सिर्जना गरिरहेका छौँ । र, यसमा हाम्रा डिलरहरूमात्र नभएर बाटो–बाटोमा बसेर हाम्रा ग्राहकहरूलाई सेवा प्रदान गरिरहेका वर्कशप र ग्यारेजहरूलाई पनि संलग्न गराएका छौँ ।

विगत २५ वर्षदेखि नेपाली बजारमा भएर पनि एउटा ऐतिहासिक तथ्य के छ भने महिन्द्राका उत्पादनहरू भारतमा सार्वजनिक भएपछि नेपाल आइपुग्न ६ महिनाभन्दा बढी समय लाग्ने गरेको छ । नेपाली ग्राहकहरू भारतीय अटो बजारकाबारेमा बलियो पकड राख्छन् । यसरी आफ्नो उत्पादन ढिला पठाउँदा कतै उत्पादनकाबारेमा चाख कम हुँदै जाने अवस्था त सिर्जना हुँदैन ?

यो रोचक प्रश्न हो । र, म तपाईंसँग सहमत पनि छु । तपाईंले राम्रो अवलोकन गर्नुभएको छ । तर, यो पुरानो कुरा भैसक्यो । भारतमा सार्वजनिक भएपछि नेपालमा हुन ६–८ महिना लाग्ने गरेकै हो । यसका केही कारण पनि थिए । नेपाल र भारत छिमेकी भए पनि भौगोलिक हिसाबले धेरै फरक छन् । नेपालमा पहाडहरू धेरै छन्, जसका कारण फाेर ह्वील ड्राइभ गाडी रुचाइन्छ । त्यसैले हामीले पहिले भारतमा सार्वजनिक गरेर नेपालको विशिष्ट परिस्थितिका लागि हाम्रो उत्पादन उपयुक्त छ कि छैन भनेर बुझ्न केही बढी समय लिएको हो ।

यसले नेपाली ग्राहकहरूमाझ ‘आफ्नै देशमा बनेको गाडी’को गर्भानुभूति गराउनुकासाथै नेपालमा रोजगारी सिर्जना र औद्योगीकरणको क्षेत्रमा पनि मद्दत पुर्याउने विश्वास हामीले लिएका छौँ ।

अब त हामीले नेपालमा २५ वर्ष बिताइसक्यौँ नि । हाम्रो आत्मविश्वास बढेको छ । विगत २–३ वर्षदेखि यो अवस्थामा धेरै परिवर्तन आइसकेको छ । अहिले नेपालमा गाडी सार्वजनिक गर्न मुश्किलले २–३ महिनामात्र लाग्ने गरेको छ । नेपालको भूगोल र उत्पादनका प्रयोगकाबारे हामी जानकार छौँ । हामी भारतमा नै धेरै ‘भ्यालिडेसन’ गर्ने हुनाले नेपालका लागि छुट्टै ‘भ्यालिडेसन’ गरिराख्नु पनि पर्दैन । नतिजास्वरुप ‘एक्सयूभी–३००’ १ महिनाभन्दा कम समयमा सार्वजनिक भएको छ भने फ्युिरयाेकाे लागि त १ हप्ता नै काफी भयो ।

महिन्द्रा अहिले विश्वका १०० भन्दा बढी देशहरूमा फैलिसकेको छ । यस्तो अवस्थामा तपाईंहरूको भावी ब्यावसायिक रणनीतिहरू के छन् ? र, नेपाल ती रणनीतिहरूमा कहाँ उभिन्छ ?

हामी बिभिन्न ब्यावसायिक क्षेत्रहरूमा विश्वका १०० भन्दा बढी देशहरूमा फैलिएको कुरा साँचो हो । तर, नेपाल हामीले ठूलो प्राथमिकतामा राखेको बजार हो । नेपाल हाम्रो ठूलो आयातकर्ता देश हो । हामीले यहाँ हाम्रो धेरै उत्पादनहरू बेच्न सकेका छौँ । र, कतिपय सेग्मेन्टमा हामी बजारको नेतृत्व गरिरहेका छौँ ।

भारतमा डिजाइन गरिएका सबै उत्पादनहरूमा नेपालका लागि समेत विशेष ध्यान दिने गरिएको छ । सर्भिसको क्षेत्रमा पनि हामी १ नम्बर नै हुन चाहन्छौँ । यसका लागि हामी पूर्वाधारहरू बनाइरहेका छौँ । र, तिनको क्षमता अभिवृद्धिमा पनि ध्यान दिइरहेका छौँ ।

भ्यालु एडिसन गर्दै एउटा उत्पादनको तह नेपालमै सम्पन्न गर्नेतर्फ पनि कुरा अघि बढिरहेको छ । विश्वभरि हाम्रो ३५–३६ वटा प्लान्टहरू छन् । नेपालमै एउटा प्लान्ट सुरु गर्नु धेरै ठूलो कुरा होइन । फेरि साना प्लान्टहरू लगाउने सन्दर्भमा हाम्रो विशेषज्ञता पनि छ ।

यसले नेपाली ग्राहकहरूमाझ ‘आफ्नै देशमा बनेको गाडी’को गर्भानुभूति गराउनुकासाथै नेपालमा रोजगारी सिर्जना र औद्योगीकरणको क्षेत्रमा पनि मद्दत पुर्याउने विश्वास हामीले लिएका छौँ ।


Back_to_top