अटो शोमा भागलिने कम्पनी बढ्दै गए, प्रदर्शनी स्थल उस्तै छ: निराकार श्रेष्ठको अन्तर्वार्ता

विगत ५ वर्षदेखि नाडा अटो शोको सहसंयोजक भएर अटो शोमा विशेष योगदान दिदै आएका निराकार श्रेष्ठ नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्यसमेत हुन् । लक्ष्मी इन्टरकन्टिनेन्ट प्रालिका कार्यकारी निर्देशक श्रेष्ठ विगत लामो समयदेखि अटो ब्यवसायमा सक्रिय रहेका छन् । अघिल्ला अटो शोहरुमा सक्रियरुपमा कामगर्दै आएका उनी आफैँ संयोजक भएर गर्न लागेको अटो शो भने यो पहिलो हो । आगामी भदौ २६ गतेबाट आयोजना हुने उक्त अटा शोको तयारीबारे मेरोअटोले गरेको कुराकानीको सारसंक्षेपः  

अटो-शो आउन नौ दिनमात्र बाँकी रहेको छ, तयारी कस्तो चल्दैछ ?

धेरै लामो समयदेखि अटो-शो चल्दैआएको छ । यो नाडाले आयोजना गरेको १४ औँ अटो-शो हो । हामीले आन्तरिकरुपमा गर्नुपर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएका छौँ । विगत तीन महिनादेखि नै हामीले अटो-शोको आन्तरिक तयारी गरिरहेकाले अहिले खासै समस्या हुँदैन । आज नै अटोको तयारीको विषयमा हामीले पत्रकार सम्मेलन आयोजना गर्दैछौँ । हामीलाई अहिले सबैभन्दा ठूलो चिन्ता भनेको आकाशबाट पानी पर्छ कि भन्ने छ । नाडा अटो-शोमा जहिले पनि पानी परेको रेकर्ड छ । हेरौँ, योे वर्ष कस्तो हुन्छ ।

कुनै बेला स्टल भर्न कठिन थियो, अहिले पुर्याउन कठिन छ ।

सधैँ बैंक र बीमा कम्पनीको सहभागिता हुने गरेको यसपटक किन सहभागिता भएन ?

विगतदेखि नै हामीले यो क्षेत्रसँग जोडिएर आएका ब्यवसायलाई स्थान दिएर अटो-शो गर्दैआएका थियौँ । तर, अब हामीले अटोमोवाइल ब्यवसायलाई नै स्थान दिन नसक्ने अवस्था आइसकेको छ । नाडा अटो-शोमा भाग लिन इच्छुकहरू बढ्दै गए, तर प्रदर्शनीस्थलको समस्या भयो । विगत लामो समयदेखि हामीले प्रदर्शनीस्थल भएन भनेर भनिरहेका छौँ । विगतमा हामीले एउटा कम्पनीलाई ६० देखि ६५ स्क्वायर फिटको स्टल दिँदैआएका थियौँ । पछिल्लो पाँच वर्षदेखि त्यसलाई घटाउँदै-घटाउँदै ल्याएर अहिले एउटा कम्पनीलाई जम्मा ३२ स्क्वायर फिटमात्र दिने गरेका छौँ । धेरै मोडलका गाडीहरू भएका कम्पनीले आफ्नो सबै मोडल डिस्प्ले गर्न सक्ने अवस्थासमेत छैन ।

अझ यसपटक हेभी, कमर्शियल साधन बिक्री गर्ने कम्पनीहरूले धेरै ठूलो सेक्रिफाइस गरेर स्थान अभावको महसूस गर्दै हामी सहभागी नहुँदा पनि हुन्छ भनेर ठाउँ छाडिदिनुभयो । जसले हामीलाई स्थान वितरणमा सहज भएको छ । कुनै बेला स्टल भर्न कठिन थियो, अहिले पुर्याउन कठिन छ ।

किन यति धेरै आकर्षण बढेको रहेछ ?

विशेषतः चार्डपर्वको मुखमा हुने अटो–शोमा जुन किसिमको भिजिटरहरूको फ्लो हुन्छ, त्यसलाई परिणाममा पुर्याउने इच्छा सबै कम्पनीको रहेको हुन्छ । कम्पनीहरूले विस्तारै अटो–शोको आकर्षण बुझ्दै गए । त्यसले पुराना पहिला नआउने कम्पनी पनि सहभागी हुनथाले भने नयाँ आउने कम्पनीलाई एकैपटक हजारौँ मानिसलाई आफ्नो गाडी देखाउने मौका मिल्यो । जसको कारण हरेक वर्ष कम्पनीहरूको सहभागिता बढ्दै गएको छ । गतवर्ष १६ वटा दुईपाङ्ग्रे र १६ वटा चारपाङ्ग्रे सवारीसाधनको स्टल रहेको यस वर्ष बढेर दुईपाङ्ग्रे २० र चारपाङ्ग्रे १९ वटा कम्पनी सहभागी हुँदै छन् । अटो-शोमा भाग लिने कम्पनी बढे, अवलोकनकर्ता बढे, तर प्रदर्शनीस्थलको साइज त उत्रै छ । यसलाई हामीलाई निकै ठूलो समस्या पार्न थालेको छ ।

लामो समयदेखि अटो–शोसँग जोडिनुभएको छ । अटोमा आउने अवलोकनकर्ताको रोजाईमा खरिद हो कि सूचनाका लागि धेरै हो ?

तथ्याङ्क हेर्नुस् न, हरेक वर्ष तीन लाखभन्दा बढी बाइक बिक्न थालिसक्यो । वार्षिक २० हजारभन्दा बढी कारहरू बिक्छन् । अटो–शो अवलोकन गर्न  ६५ देखि ७० हजार मानिस आउँछन् । यसले के देखाउँछ भने अटो-शो हेर्न आउने मानिसले कुनै न कुनै किसिमले सवारीसाधन किन्छन्, त्यसमा दुईमत छैन । अर्को कुरा अटो–शो हामी नेपालीले मनाउने दशैंभन्दा ठिक अगाडि हुन्छ । दशैंमा नयाँ सामानदेखि लत्ताकपडासम्म किन्ने हाम्रो कल्चर रहेको छ । उता बिक्रेताको साइडबाट हेर्दा सबैभन्दा बढी सवारीसाधन बिक्ने सिजन पनि यही हो । यस्तोमा अटो-शोमा भाग लिने हरेक कम्पनीले केही न केही अफरहरू पनि ल्याएको हुन्छ । अवलोकनकर्ताले करिब तीनदेखि चार घन्टा समय खर्च गर्ने हो भने सबै कम्पनीको उत्पादनको विषयमा जानकारी पाउन सक्छन् । जुन हरेकको शोरुममा गएर लिँदा धेरै समय खर्च हुन्छ, त्यसैले यो सूचनाप्रवाह र ब्यवसाय दुबैको लागि उपर्युक्त थलो हो ।

पछिल्लो वर्षदेखि नै बैंकको लागनी निकै कठिन बन्दै गइरहेको देखिन्छ, सरकार पनि सवारीसाधन विशेष गरेर कारको मामलामा अनुदार देखिँदैछ । यस्तो बेलामा हुन लागेको अटो–शोबाट कस्तो सन्देशप्रवाह हुन्छ ?

अटो मोवाइल भनेको आवश्यकता हो । यो कुनै विलासी वस्तु हुँदै होइन । मानिसले आफ्नो आवश्यकताअनुसारको सवारीसाधन चढ्ने हो । आधामात्र सवारीसाधन चल्दा अस्ती कस्तो समस्या देखियो । यसको मतलव सबै मानिसलाई सवारीसाधनको आवश्यकता छ । चाहे त्यो निजी सवारीसाधन होस् वा सार्वजनिक । नागरिकले यातायातको सुविधा त पाउनु पर्यो नि । यस्ता विषयमा हामी ब्यवसायी लागि नै रहनेछौँ ।

यस वर्षको अटो–शोमा कति भिजिटर आउने अपेक्षा गर्नुभएको छ ?

गतवर्ष करिब ६३ हजार अवलोकनकर्ताले अटो-शो हेर्नुभएको थियो । यस वर्ष पहिलाको तुलनामा पाँचदेखि सात हजार अवलोकनकर्ता बढ्ने हामीले अपेक्षा गरेका छौँ ।

पाँचपटक सह–संयोजक हुनुहुन्थ्यो, यसपटक संयोजक हुनुभएको छ । काममा कस्तो फरक हुने रहेछ ?

सह–संयोजकभन्दा संयोजक भएपछि जिम्मेवारी धेरै हुनु स्वभाविक हो । हिजो समस्या धेरै आफ्नो टाउकोमा बोक्नु पर्दैनथियो, काम गर्दा पुग्थ्यो । संयोजक भएपछि जस–अपजसको भारी बोक्नुपर्छ । कुनै पनि काम राम्रो हुनुपर्छ भन्ने जिम्मेवारीले झक्झकाई रहन्छ ।

अहिले हाम्रो अटो-शो संयोजन टिममा १२ जना छौँ । आकाश गोल्छा र राजन श्रेष्ठ सह-संयोजकको भूमिकामा हुनुहुन्छ भने अन्य नौजना कार्यसमिति र बाहिरबाट गरेर सदस्य साथीहरू हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय अटो-शोहरूमा निकै उत्साहपूर्णरुपमा सहभागी हुने अटो उत्पादक कम्पनीहरूले नेपालमा हुने अटो-शोलाई कसरी हेर्ने गरेका छन् ?

हाम्रो जुन किसिमको बजार छ, जति सवारीसाधन बिक्छन्, जति अवलोकनकर्ताको चासो आउँछ । त्यस हिसाबले हामीले गरिरहेको अटो–शोलाई उनीहरूले राम्रो नै मानेका छन् । तर, ब्रान्ड प्रेजेन्ट भनौँ वा ब्रान्डिङको हिसाबले भन्दा उनीहरू खुसी छैनन् । त्यसो हुनुमा स्थान अभाव नै पहिलो कारण हो ।

यसपटकको अटो-शोमा नयाँ के आउनेछन् ?

सबै कम्पनीले आ–आफ्नो तयारी गरिरहेका छन् । पक्कै पनि नयाँ कुरा सबै कम्पनीले ल्याउनेछन् । तर, हामीकहाँ सबैले अन्तिम समयतिर आएर यस्तो ल्याउँदैछु वा गर्दछु भन्ने गरेकाले अहिल्यै यही आउने भन्न कठिन होला, तर इलेक्ट्रीक सवारीसाधन र केही नयाँ ब्रान्डको आँगमन भने पक्का छ ।


Back_to_top