काठमाडौं । मध्य पूर्वमा चलिरहेको युद्धको असर सीमित क्षेत्रमा मात्रै छैन । यसले विश्वका धेरै देशमा बस्ने नागरिकको भान्सामै संकट ल्याउने प्रक्षेपण भइरहेका छन् ।
खासगरी युरोपियन देशहरू पेट्रोलियम पदार्थको परनिर्भरतामा छन् । त्यहाँ लामो समयदेखि चलिरहेको रसिया-
युक्रेन युद्धका कारण ठूलै आर्थिक क्षति भइसकेको छ । अहिले थपिएको इरान युद्धले पूरै युरोपमा अर्को झट्का लागेको देखिन्छ ।
क्लिन ट्रान्सपोर्ट एण्ड इनर्जी वकालत समूह (टी एण्ड ई) को कार विभागका निर्देशक लुसियन म्याथ्युले ईभी प्रयोगकर्ताहरू निकै ढुक्क रहेको रिपोर्ट सार्वजनिक गरेका हुन् । उनले कच्चा तेलको मूल्य १०० डलर माथि पुग्दा आर्थिक रूपमा पनि पेट्रोल कारका मालिकहरू ५ गुणा बढी मारमा पर्ने उल्लेख गरेका छन् ।
सन् २०२२ मा सुरू भएको रुस-युक्रेन युद्धलाई आधार मानेर ‘टी एण्ड ई’ले रिपोर्ट तयार पारेको जनाएको छ । अहिले फेरि मध्यपूर्वमा चलिरहेको युद्धले उक्त रिपोर्टलाई थप सान्दर्भिक बनाएको निर्देशक म्याथ्यूले बताए ।
क्लिन ट्रान्सपोर्ट र इनर्जी क्षेत्रमा काम गर्ने अगुवाहरूले भनेका छन्, ‘ट्रम्प वा आयतोल्लाहले तेलका धारा आफ्नो नियन्त्रणमा राख्न सक्लान्, तर हावा र सूर्य उनीहरूको बसमा छैन । त्यसैले ईभी निकै उत्तम विकल्प हुन्छन् ।’
सन् २०३५ सम्ममा युरोपमा पेट्रोलियम पदार्थबाट चल्ने कार बिक्रीमा रोक लगाउने विषयमा तीव्र काम भएको थियो । तर, केही ठूला कार निर्माताले त्यसलाई आफ्नो प्रभावमा पारे । जसको कारण युरोपको योजना केही सुस्त बन्यो ।
युरोप तेलको ठूलो बजार मानिन्छ । जहाँ वार्षिक ६७ अर्ब युरो मूल्य बराबरको पेट्रोल कारको लागि मात्रै प्रयोग हुन्छ । उसोत ईभीको प्रयोगमा पनि युरोप अगाडि नै छ । पूरै युरोपमा आजको दिनमा ८० लाख बढी इलेक्ट्रीक कारहरू दौडन्छन् ।
विश्वव्यापी ईभीको बिक्रीमा केही गिरावट चलिरहेको रिपोर्टहरू बाहिर आइरहँदा मध्यपूर्वको युद्धले फेरि एकपटक बहस ईभीतर्फ केन्द्रित हुन लागेको देखिन्छ ।

