काठमाडौं । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले दुई स्कुटरको बिक्री बन्द गरेको छ । कम्पनीले जुपिटर र विगोको बिक्री बन्द गरेको हो ।
जगदम्बा मोटर्सले आफ्नो वेबसाइटबाट जुपिटर र विगो स्कुटर हटाएको हो । कम्पनीको वेबसाइटमा अब टीभीएस एनटर्क तथा इलेक्ट्रीकमा आइक्यूब मात्र देख्न सकिन्छ ।
कम्पनीले एनटर्क १२५ को ६ भेरियन्ट वेवसाइटमा लिस्टिङ गरेको छ भने अन्य सबै मोडल हटाएको हो ।
कम्पनीले पछिल्लो समय जुपिटर २ लाख ११ हजार ९०० रुपैयाँ र विगो २ लाख २६ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको थियो ।
यी स्कुटरहरू कुनै शोरुममा अझै स्टक हुन सक्ने अनुमान गर्न सकिन्छ । पछिल्लो ६ महिनाको आयात तथ्यांक हेर्ने हो भने पनि कम्पनीले एनटर्क बाहेकका अन्य स्कुटरको आयात गरेको देखिँदैन ।
२०२४ को पहिलो ५ महिनामा जगदम्बा मोटर्सले ६ हजार ४०० यूनिट एनटर्क ल्याउँदा अन्य स्कुटर १ यूनिट समेत आयात नगरेको देखिन्छ । कम्पनीले जुपिटर र विगोको बिक्री बन्द भएको आधिकारिक जानकारी बाहिर नल्याए पनि लामो समयदेखि स्कुटर आयात नहुनु र वेबसाइटमा समेत यी दुई मोडलका स्कुटर हटाएकाले बिक्री बन्द भएको अनुमान गर्न सकिन्छ ।
टीभीएस नेपालको वेबसाइटमा ६ मोडलका एनटर्क देख्न सकिन्छ । जसमा एनटर्क आरटीएफआई बीएस ६, एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क सुपर स्क्वाड, एनटर्क एक्सपी र एनटर्क रेस एडिशन रहेको छ ।

