काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्ट जीप नेपालमा धेरै लिइने नाम हो । यातायात कार्यालयदेखि ट्राफिक प्रहरी र आम जनमानसले जीप भन्ने गरेको सबै गाडी जीप होइनन् ।
जीप अमेरिकी ब्राण्ड हो । जसको स्वामित्व अहिले इटालीयन कम्पनी फियात मोटर कम्पनीसँग छ । नाडा अटो शो २०१९ मा पहिलो पटक नेपालमा आधिकारीक विक्री सुरु भएको जीप ब्राण्ड एमएडब्लू लाइफले विक्री गर्दै आएको छ ।
सुरुमा भारतमा उत्पादन भएको कम्पासबाट नेपाल प्रबेश गरेको जीपसँग अहिले कम्पासको साथमा र्याङलर, ग्राण्ड चेरोकी जस्ता मोडल थपिएका छन् । आज हामीले यहाँ चर्चा गर्न लागेको गाडी र्याङलर रुबीकन हो । र्याङलर नेपालमा सहारा र रुबीकन भेरियन्टमा उपलब्ध रहेको छ ।
![]()
रुवीकन तीनवटा र पाँच वटा ढोकामा आफ्नो आवश्यकता र छनोट अनुसार ग्राहकले खरिद गर्न सक्नेछन् । तीनवटा ढोका भएको रुबीकन विशेषत अफरोड केन्द्रित गाडी हो । यसमा दिइएको टायरले नै रुबीकनको उपयोग कहाँ हुन्छ भन्ने देखाउँछ ।
कम्प्याक्ट र मस्कुलर डिजाइन, रफटप इन्टेरियर, एड्भेन्चर फिल प्रदान गर्ने ड्यासबोर्ड, इन्टेरियरमा प्रयोग गरिएका ठूला पिलर, रेगुलर र फोर ह्वील गियर नब, इन्फोटेन्टमेन्ट सिस्टम, प्रिमियम लेदर सिट, भ्वाइस कमाण्ड सहितको स्टेरिङ ह्वीलमा दिइएको कन्ट्रोल बटम, अटो डीम हुने रियर भ्यू मिरर जस्ता फिचर यसमा रहेका छन् ।
![]()
खराब बाटोको बादशाह मानिने यो गाडीको क्यावीनलाई विशेष बनाउन जीपले एम्बीयन्ट लाइटको प्रयोग गरेको छ । लेदरको प्रयोग गरेर बनाइएको ड्यासबोर्डले जो कोहीलाई लोभ्याउँछ । अर्को गज्जब लाग्ने फिचर यसको इन्टेरियरलाई सिधै पानीको प्रयोग गरेर धुन सकिन्छ ।
![]()
यसमा दिइएको इन्फोटेन्टमेन्ट सिस्टममा एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्ट गर्न सकिन्छ । अगाडि दिएको जीपको परम्परागत ग्रिल निकै आक्रमक देखिन्छ । साथै रुबीकनमा प्रयोग भएको सबै लाइट एलइडी रहेको छ । अटोमेटीक एलइडी रिफ्लेक्टर हेडल्याम्प, रियर डिफगर, १७ इन्चको ह्वील यसमा पाउन सकिन्छ ।
![]()
सुरक्षाको हिसावले सबै चक्कामा डिस्क ब्रेक, हाइड्रोलिक एसिस्ट ब्रेक बुस्टर, टायर प्रेसर मोनिटर, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट रुबीकन थ्रि डोरमा रहेको छ । कम्पनीले रुबीकनमा २.० लिटर पेट्रोल टर्बो इन्जिन दिएको छ । यसमा रहेको इन्जिनले २७३ पीएस पावर ४०० एनएम टर्क प्रदान गर्छ । यसमा ८ स्पीड अटोमेटीक गियरबक्स दिइएको छ । नेपालमा यसको मूल्य २ करोड ६८ लाख रुपैयाँ तोकेर विक्री वितरण हुँदै आएको छ ।
![]()
रुबीकन थ्रि डोरको लम्बाई ४२३७ एमएम, चौडाई १८७५ एमएम, उचाई १८७० एमएम, ह्वील वेस २४६० एमएम रहेको छ । अफरोडको लागि बनेको यो गाडीमा २६० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

