जीपको लाइफस्टायल एसयूभी र्‍याङलरकाे २०२४ माेडल सार्वजनिक

काठमाडौं । जीपको  २०२४ मोडल र्‍याङलर एसयूभी सार्वजनिक भएको छ । कम्पनीले न्यूयोर्क अटो शोमा यसको ग्लोबल डेब्यू गराएको हो ।

नयाँ र्‍याङलरमा अघिल्लो मोडलको तुलनामा बाहिरी र भित्री फिचर्समा व्यापक सुधार गरिएको छ । कम्पनीले यसलाई स्पोर्ट, विलिस, शाहारा, हाइ अल्टिच्युड, रुबिकन र रुबिकन ३९२ भेरियन्टमा अपडेट गरेको हो ।

जीपको २०२४ मोडल र्‍याङलर एसयूभीको बाहिरी भागमा सुधारिएको हेडल्याम्प, न्यू फ्रन्ट ग्रिल दिइएको छ । यसको ह्वील साइज १७ देखि २० इन्चको हुने बताइएको छ । यसको एक्सट्रीम ३५ प्याकमा भने ३२ देखि ३५ इन्चको टायर हुनेछ ।

यसैबीच, यसको इन्टेरियरमा भने ड्राइभर र प्यासेन्जर कम्फर्टका लागि १२.५ इन्चको टचस्क्रीन सिस्टम दिइएको छ । यसमा न्यू क्लाइमेट कन्ट्रोल भेन्ट्स, १२ तरिकाले समायोजन गर्न सकिने अगाडिको सिट, नप्पा लेदर सिट, ९ वटा स्पिकर भएको अल्फाइन स्टेरियो सिस्टम, इन्टिग्रेटेड अफ रोड क्यामेरा र विन्डसिल्ड इन्टिग्रेटेड स्टेल्थ एन्टेना पनि पाउन सकिन्छ ।

जीप र्‍याङलर २०२४मा एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी सहितको स्टेलान्टिस युकनेक्ट फाइभ एन्ड्रोइड बेस्ड सिस्टम, चार्जिङका लागि गाडीको भागमा यूएसबी टाइप सी पोर्ट र पछाडिको भागमा प्यासेन्जरका लागि यूएसबी टाइप ए र सी पोर्ट लगायत दिइएको छ ।

सुरक्षाका लागि भने यसमा फ्रन्ट रियर प्यासेन्जर साइड एयरब्याग, ट्रयाकसन कन्ट्रोल, ईएससी, रिभर्स क्यामेरा, एडभान्स क्रुज कन्ट्रोलसहितको फरवार्ड कोलाजिन अलर्ट लगायत फिचर्स समावेश गरिएका छन् ।

कम्पनीका अनुसार २०२४ जिप र्‍याङलरको इन्जिन लाइन–अपमा भने कुनै परिवर्तन भएको छैन । यसमा ३ वटा आइसीई इन्जिन अप्सन र प्लग इन हाइब्रिड ईभी ४ एक्सई पाउन सकिन्छ ।

यसमा भएको २.० लिटर टर्बो चार्जड फोर सिलिन्डर इन्जिनले २७० एचपी पावर र ४०० एनएम टर्क उत्पादन गर्छ । यसमा २८५ एचपी र ३५२ एनएम टर्क प्रदान गर्ने ३.६ लिटर भी ६ इन्जिन पनि रहेको छ । यसको ४ एक्सई भेरिएन्ट हाइब्रिडमा भने २.० लिटरको टर्बो प्लग दिइएको छ ।

यसलाई स्ट्याण्डर्डमा ८ स्पीड अटोमेटिक ट्रान्समिसनसँग जडान गरिएको छ । त्यस्तै, ४ सिलिन्डर र भी ६ मोडललाई भने ६ स्पीड म्यानुअल ट्रान्समिसनसँग जडान गरिएको छ ।

२०२४ जिप र्‍याङलरको रुबिकन ३९२मा ६.४ लिटरको भी ८ इन्जिन दिइएको छ । यो इन्जिनले ४७० एचपी र ६३८ एनएम टर्क उत्पादन गर्छ । यसको ४ एक्सईमा भने १७.३ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ३३ किलोमिटर रेन्ज प्रदान गर्दछ ।

हाल यसको मूल्य सार्वजनिक भने भएको छैन । तर, बुकिङ सुरू भएको र यही वर्ष भित्रै डेलिभरी दिने कम्पनीले जनाएको छ ।


Back_to_top