सुजुकीले दुई एसयूभीको मूल्य भोलि सार्वजनिक गर्ने

काठमाडौं । सिजी मोटोकर्पले आफ्नो दुई एसयूभीको मूल्य भोलि सार्वजनिक गर्ने भएको छ । कम्पनीले साउन १ गतेबाटै बुकिङ खुल्ला गरेको फ्रङ्क्स र जिम्नी एसयूभीको मूल्य भोलि साउन ८ गते सार्वजनिक गर्न लागेको हो ।

सिजीले यी दुबै एसयूभी एकै पटक नेपालमा सार्वजनिक गर्न लागेको छ । मारुती सुजुकीले उत्पादन गरेको फ्रङ्क्स निकै सफल प्रिमियम ह्याचव्याक कार बलेनोमा आधारित क्रसओभर मोडल हो । निकै मस्कुलर डिजाइनमा तयार भएको फ्रङ्क्सको सेग्मेन्टमा अहिले कुनै पनि ब्राण्डसँग एउटै मोडल नेपालमा उपलब्ध छैन ।

यसअघि हुन्डाईको आई २० एक्टीभ बिक्री गर्दै आएको सेग्मेन्टमा त्योभन्दा बढी फिचर र मस्कुलर डिजाइनमा तयार भएको कारण फ्रङ्क्सले भारतमा पनि निकै राम्रो ब्यापार गरिरहेको छ । धेरै जसो फिचरहरु बलेनो र ब्रेजाबाट लिइएको कारण पनि फ्रङ्क्स पेट्रोल कार खोज्नेको रोजाईमा पर्ने सिजी मोटोकर्पको भनाइ छ ।

अफरोड एसयूभी भनौं या लाइफ स्टाइल प्रोडक्टको रुपमा चित्रण गरौं । जिम्नी सुजुकीको आइकोनिक मोडल हो । विश्व बजारमा यसको सफलता निकै लोभलाग्दो छ । यसअघि जापानमा उत्पादन भएर आएको जिम्नी अब भने भारतमा उत्पादन भएर आउन लागेको हो । भारतमा उत्पादन भएको जिम्नी मूल्यको हिसावले पनि सस्तो हुने अनुमान गरिएको छ ।

सुजुकी जिम्नी यसअघि ३ वटा ढोका भएको मोडलको रुपमा नेपाल आएको थियो । अब आउने जिम्नी भने ५ ढोका भएको मोडल हुनेछ । यसमा कम्पनीले १.५ लिटर क्षमताको इन्जिन र फोर ह्वील ड्राइभ सिस्टम प्रदान गरेको छ ।

सुजुकी फ्रङ्क्समा भने १.२ लिटर इन्जिन रहने छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टम रहेको फ्रङ्क्स सहरमा एसयूभीको अनुभव प्रदान गर्ने खालको हुने अनुमान गर्न सकिन्छ । कम्पनीले भोलि मूल्य यसअघि नै घोषणा गरेको थियो । सम्भवत फ्रङ्क्सको सुरुवाती मूल्य ३६ लाख र जिम्नीको ६० लाख हाराहारी रहने अनुमान गरिएको छ ।


Back_to_top