काठमाडौं । कलंकी-महाराजगञ्ज सडकखण्ड विस्तार अन्तर्गत २५ मिटर भित्र पर्ने घरटहरा हटाउने प्रकृया सुरु भएको छ । सडकको मापदन्ड भित्र बनेका यस्ता संरचना हटाउन सडक विभागले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।
विभागले १५ दिनको म्याद दिएर २५ मिटर भित्र पर्ने संरचना हटाउन निर्देशन दिएको विभागका महानिर्देशक केशव कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार बासिन्दाले आफैले यस्ता संरचना नभत्काय विभागले आफै भत्काउने बताए ।
शर्माकाअनुसार चिनीयाँ कम्पनीले तयार गरिरहेको उक्त सडकखण्डको डीपीआर चाँडै बुझाउने जानकारी दिए । डीपीआर तयार भएसँगै सडक विस्तारको कामले तिब्र पाउने उनले दाबी गरे ।
‘हाल वस्ती भत्काउनका लागि १५ दिनको म्याद दिएका छाैँ, उनीहरुले आफै नभत्काए हामी भत्काउने छौँ, डीपीआर तयार भएसँगै सडक विस्तारको काम तिब्र गतिले अघि बढ्ने छ,’ शर्माले मेरोअटोसँग भने ।
उक्त सडकखण्डमा ठूला घर नरहेको र साना झुप्रा तथा टहराहरु रहेकाले त्यो सक्दो चाँडो हटाइने उनले बताए ।
संघीय सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा चक्रपथ सडक विस्तार कार्यको लागि १ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कलंकी–महाराजगञ्ज सडक खण्ड ८.२ किलोमिटर लम्बाइको रहेको छ । चीनले रिङरोडलाई तीन चरणमा विस्तार गर्ने जिम्मा लिएको हो । त्यसै अनुरुप दोस्रोखण्डको बिस्तारमा कलंकीदेखि महाराजगञ्जसम्मको सडक बिस्तार गरिने छ ।

