हामीलाई दिए तीन महिनामा नागढुङ्गा–कलङ्की सडक बनाउँछौंः नगरप्रमुख गिरी

काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ । 

चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्ग रोगन गर्न लगाई सडकखण्डलाई आकषक बनाउन लागेको हो । 

‘नगरपालिकाले सडकखण्डको दायाँबायाँ करीब एक हजार २०० सोलारबत्ती जडान, वृक्षरोपण एवं नगरबस सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । यात्रु चढ्ने र ओर्लने स्थानमा विद्युतीय स्मार्ट प्रतिक्षालय हुने छ’  नगरप्रमुख घनश्याम गिरीले भने । 

नगरप्रमुख गिरीले सडक विस्तार कार्य छिटो निर्माण सम्पन्न गर्न सरकारसँग आग्रह गरे । केन्द्रीय सरकारले आवश्यक बजेट र निर्माणको अख्तियारी दिएमा तीन महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्न नगरपालिका तयार रहेको उनले जनाए । 

नगरपालिकाले खानेपानी सरसफाइ, वातावरण तथा विपद् व्यवस्थापन, शहरी आवास तथा भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य तथा खेलकूद, सामाजिक सुरक्षा तथा विकास, पर्यटकीय पूर्वाधारको विकास, कृषि, वन, पशु, संस्थागत सुशासन तथा सेवा प्रवाह, सम्पदा संरक्षणलगायतका क्षेत्रलाई आफ्नो प्राथमिकताको क्षेत्र बनाएको छ । 


Back_to_top