नीतिमात्रै बनेर भएन, कार्यान्वयनमा स्थिरता ल्याउन मेरो उम्मेदवारी : करण चौधरीको अन्तर्वार्ता

नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको चुनावी साधारण सभा आगामी भदौको अन्तिम साता गर्ने घोषणा भएसँगै अध्यक्षका उमेद्वारले आफ्नो प्यानल नै निर्माण गरेर अगाडि बढेका छन् । नाडालाई देशका सबै प्रदेशमा उपस्थिति गराएसँगै हुन लागेको निर्वाचनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यस पटकको निर्वाचनमा अहिलेका उपाध्यक्ष करण चौधरी र यसअघिका उपाध्यक्ष ध्रुव थापाले आ–आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

लामो कोभिड १९ महामारीले थलिएको अटोमोबाइल व्यवसाय, नाडाको भूमिका र बजारमा आउन सक्ने चुनौतीका विषयमा सिजी मोटोकर्पका कार्यकारी निर्देशक तथा अध्यक्षका उम्मेदवार  करण चौधरीसँग मेरोअटोले गरेको कुराकानीको सम्पादीत अंश :

निर्वाचनको मिति घोषणा नै नभए पनि चुनावी तयारीमा जुट्नु भएको छ । प्यानल नै निर्माण गरेर चुनावमा जाँदै हुनुहुन्छ कि सहमतिको प्रयास पनि भएका छन् ?

निर्वाचनमा सहमतिको विषय उठ्नु र संभावना हुनु भनेको सकारात्मक विषय हुन् । दुई जनाले अध्यक्ष बन्ने भनेपछि हाम्रो तयारी चुनाव नै हुन्छ भनेर जाने हो । मैले आफ्नो टिम निर्माण लगभग लगभग अन्तिम चरणमा पुर्याएको छु । सबै साथीहरूसँग सल्लाह गरेर आकांक्षी साथीहरूले समेटर टिम निर्माण गरेको छु । सबै साथीहरूको सल्लाह र सहयोगले नै मैले उम्मेदवारी घोषणा गरेको हुँ ।

नेपालको पुरानो र ठूलो मध्येको एक अटोमोबाइल व्यवसायिक घरानाबाट आउनु भएको छ । अटो क्षेत्रको समस्यालाई समाधान गर्न सरकारी पक्षसँग लबिङ गर्ने संस्थाको नेतृत्वमा आउने चाहना राख्नु भएको छ । तपाईं नेतृत्वमा पुगेपछि गर्ने कामको योजना निर्माण गर्नुभयो ?

अहिले पनि नाडाको कार्यसमितिमा उपाध्यक्ष छु । पहिलो कुरा हिजो गरेका कामलाई निरन्तरता दिने छु । दोस्रो अहिले कमिटिमा रहनु भएका अधिकांश साथीहरू मेरो नेतृत्वमा निर्वाचनमा जाँदै छन् । अहिले हाम्रो सदस्य संख्या पनि बढी रहेको छ । सबै व्यवसायीको हक र हितको लागि गर्ने काममा हामी कुनै कसर बाँकी राख्दैनौं । नाडामा जोडिएका सबै साथीहरूको हितमा समायानुकूल काम गर्ने मेरो प्रतिबद्धता रहेको छ । सबैलाई साथ लिएर जाँदा आउने समस्यासँग लड्न सहज हुन्छ ।

सरकार र व्यवसायी बीच समन्वय गर्ने, सरकारसँग हामीले व्यवसाय विस्तारको वातावरण निर्माणमा सहज हुने थुप्रै काम गराउनु पर्ने अवस्था छ, त्यसलाई सम्बोधन गराउने प्रयास गर्नु पर्ने छ । कामको सिलसिलामा आउने समस्या समाधान गर्ने र नाडालाई पारदर्शी बनाउने योजना बनाएको छु ।

एक अर्काका प्रतिस्पर्धी व्यवसायीहरू एकै ठाउँमा भेला हुने संस्थाको रूपमा नाडा परिचित छ, यही विषयले नाडाको काम कारवाहीमा असर पर्छ कि पर्दैन ?

नाडाले उठाउने विषय सामूहिक हितका लागि हो । आन्तरिक प्रतिस्पर्धा त आ–आफ्नो व्यवसायमा मात्रै हुन्छ । अटो क्षेत्रलाई परेको समस्या समाधन गर्न हामी लाग्ने हो । स्पेयर पार्टस्, ल्युव, टायर/ट्यूब, गाडी सबै क्षेत्रका समस्या समाधानमा हाम्रो सामूहिक पहल रहन्छ । विगतमा पनि हामीले यी सबै क्षेत्रका समस्या समाधान गर्न पहल गरेका छौं । सरोकारवाला निकायले यसमा सुनुवाई पनि गरेका छन् ।

आधिकारिक वितरक र नेपाल भित्र खोलेका डिलरहरू एउटै छातामुनि बस्दा आन्तरिक द्धन्दमा फस्ने खतरा देखिन्छ । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

यो विषय विगतमा पनि उठेको हो । एउटा वितरक र विक्रेता बीचको विषय व्यवसायिक सम्बन्धले निर्माण गर्ने हो । अझ यसलाई एउटा व्यवसाय भित्रको अर्को पाटोको रूपमा बुझ्नु पर्छ । नाडाबाट हामीले कुनै एउटा व्यक्तिले गर्ने व्यवसायलाई प्राथमिकतामा राखेरभन्दा सम्पूर्ण व्यवसायको विषयलाई उठान गर्छौं । डिष्ट्रीब्यूटरको आन्तरिक विषयलाई आफैँ समाधान गर्न सकेन भने नाडाले सम्वादको वातावरण निर्माण गर्न सक्छ । तर, यो विषय नाडामा ल्याउन उचित हुन्छ वा हुन्न भन्ने विषय सम्बन्धित डिष्ट्रीब्यूटर र विक्रेताले बुझ्नु पर्ने विषय हो । यसमा मेरो प्रष्ट अडान छ । आफ्नो समस्या पब्लिकमा लगेर समाधान निस्कदैन, आफैँ भित्र समाधान गर्नुपर्छ ।

सरकारले न्यू इनर्जी भेहिकलको विषयमा नयाँ नीति निर्माण गर्ने भएको छ । वि.सं. २०८८ सम्ममा विद्युतीय गाडी मात्रै विक्री गर्ने रणनीति निर्माण गर्ने क्रममा रहेकाले नाडाको तर्फबाट त्यसमा कस्तो भूमिका निर्वाह गर्नुहुन्छ ?

अहिले सरकारले निर्माण गर्ने हरेक नीतिमा नाडा जोडिएको छ । निकै अघिदेखि वातावरणसँग जोडिएको नयाँ प्रदूषण मापदण्ड निर्माणको विषयमा नाडालाई समेटिएको छ । त्यसमा हामीले आफ्नो तर्फबाट सक्रिय सहभागिता सहित सल्लाह र सुझाव दिँदै आएका छौं । न्यू इनर्जीको विषयमा पनि हामीलाई समेटर लान्छ नै होला । त्यसमा हामी प्रस्ट योजना निर्माण गरेर अगाडि बढ्ने छौं ।

दुई पाँग्रे सवारी साधन नेपालमा नै एसेम्बल गर्ने काम दुईवटा कम्पनीले सुरू गरिसकेका छन् अरू पनि तयारी गर्दै छन् । ४ पाँग्रे सवारी साधन एसेम्बल गर्ने वातावरण निर्माण गर्न के गर्नु हुन्छ ?

नीति निर्माण गर्दा कार्यान्वयन गर्ने किसिमको हुनु पर्छ । नीतिगत स्थिरतासँगै त्यसको कार्यान्यवन गर्ने समय सीमा तय हुनु पर्छ । उहाहरणका लागि अघिल्लो वर्ष इलेक्ट्रीक गाडी धेरै आयात भयो भनेर कर बढाइयो । गाडी आयात रोकिएपछि फेरि घटाइयो । अहिले फेरि गाडी आयात सुरू भएको छ । यसरी नीतिगत स्थिरता कहाँ हुन्छ । एसेम्बल गर्ने विषय ठूलो पूँजी लगाउने विषय हो । पूँजी लगाएपछि प्रतिफल खोज्नु स्वभाविक हो । अहिले एउटा नीतिमा टेकेर प्लान्ट स्थापना होला तर, पछि त्यो नै परिवर्तन भयो भने त डुब्ने अवस्था आउँछ नि । त्यसैले स्थिरता कार्यान्वयन गर्ने विषयमा ल्याउन मैले मेरो उम्मेदवारी भन्ने ठानेको छु ।

कोभिड १९ को कारण अटो क्षेत्रमा जोडिएका साना मझौला व्यवसायले निकै ठूलो आर्थिक नोक्सानी व्यहोरेका छन् । नयाँ आएको सरकारले साना मझौला व्यवसायलाई केही सहायता प्रदान गर्ने जनाएको छ । यस्तोमा तपाईंहरूको माग के छ ?

देशको लागि साना र ठूला व्यापारी दुवै निकै महत्वपूर्ण हुन्छन् । साना व्यवसायी अझै बढी महत्वपूर्ण हुन्छन् किन भने उहाँहरूको दैनिक जीवनयापन त्यही व्यवसायसँग जोडिएको हुन्छ । ठूला व्यवसायी केही बढी जोखिम बहन गर्न सक्छन् । यो विषयमा हामी साना व्यवसायीहरूसँग छलफल गरेर आफ्नो माग अगाडि राख्ने छौं ।


Back_to_top