अहिले गाडी किन्ने मानिस पाउनै गाह्रो छ: करण चौधरीको अन्तर्वार्ता

अटोमोवाइल क्षेत्रको व्यापारमा व्यापक गिरावट आएको छ । देशमा भित्रीए पनि अहिले धेरै जसो गाडी बिक्रेता कम्पनीसँग धेरै मात्रामा ल्याएर राखिएका स्टक गाडी छन् । सरकारले पुस मसान्तमा गाडी आयात गरेर राजस्वमा सहयोग गर्न गरेको आग्रहपछि व्यवसायीले पारी रहेका गाडी ल्याएका थिए ।

यसरी सरकारी आग्रहमा गाडी ल्याएका व्यवसायीले सवारीकर्जामा तिर्नु पर्ने डाउन पेमेन्टको हिस्सा करिब ३० प्रतिशतमात्रै बनाउन विभिन्न पहल गरेका थिए । यसैबीचमा नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालको नयाँ कार्यसमिति समेत गठन भएको थियो । उक्त नयाँ कार्यसमितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरि कर्जामा केही सहजता ल्याइदिन आग्रह गरेको थियो । सबैलाई मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट यसमा पुर्नविचर हुने बताइएपनि साेमबार आएको समिक्षामा यस विषयमा कुनै कुरा उल्लेख गरिएको छैन । यसै भन्दर्भमा हामीले नाडाका उपाध्यक्ष तथा फाेरह्वीलर समितिमा सभापती करण चौधरीलाई सोध्यौः

सवारीसाधनको बिक्रीमा आएको गिरावटले अटो बजार सिथिल बनेको छ । यस्तोमा बजार बढाउन कसरी काम गर्न सकिन्छ ?

अटोमोवाइलको बिक्री बढ्न पहिलो कुरा वित्तिय प्रणालीमा केही सहजता आउन जरुरी छ । बैंकसँग सहज लगानीको रकम भएपछि गाडी किन्नेलाई कर्जा प्रबाह गर्न सकिन्छ । त्यस्तै गाडी किन्दा ग्राहकले गर्नु पर्ने डाउन पेमेन्ट असाध्यै धेरै भयो यसलाई घटाउन जरुरी छ । बैंकहरु व्यवसायीक ऋण र अटो ऋणको बिषयमा केही लचक हुन जरुरी छ । मुख्यत अहिले समस्या भनेकै अटोमोवाइलमा लगानी हुने रकम अभाव हो ।

त्यसो भए बिक्रीमा उच्च गिरावट आउनुको मुख्य कारणहरु के के हुन् ?

बिक्री घट्नुमा मुख्यत ३ वटा कारणहरुले प्रभाव पारेका छन् । पहिलो कुरा ९० प्रतिशत गाडीहरु अटोलाेन मार्फत नै खरिद बिक्री हुने गरेको छ । त्यो निकै ठूलो संख्या हो । व्यक्तिगत खरिदकर्ताहरुलाई ऋणमा गरिएको कडाईले नै अहिले गाडी किन्ने मानिस नै पाउन कठिन भएको हो । फेरी हामीकहाँ संचालन भइरहेका प्राय कम्पनीहरु पनि नाफामा जान सकिरहेका छैनन् । जसको कारण कम्पनीहरु पनि ऋण लिन सक्ने अवस्थामा छैनन् । उनीहरुलाई पनि ऋण दिइएको छैन । समग्रमा पुरै व्यवसायीक क्षेत्रको मनोबिज्ञान नै खल्बल्लिएको छ र यसले धेरै तरङ्ग ल्याएको छ ।

यदि कर्जाको समस्या समाधान भएन भने धेरैको व्यवसाय बन्द हुने अवस्थामा पूगेकाे छ । अटो क्षेत्रको सम्पूर्ण सञ्जाल गाडीकोे विक्रीसँग जोडिएको हुन्छ । सरकारले यो क्षेत्रलाई कसरी सम्हाल्ने भनेर सोच्नुपर्ने अवस्था आइसकेको छ । हामी सरकारलाई धेरै कर योगदान गर्ने क्षेत्र पर्छौ । त्यसले यो क्षेत्रमा परेको नकारात्मक असरले करदेखि रोजगारी र समग्र अर्थतन्त्रमा नै पर्ने कुरा नीति निर्माताले बुझेका छन् । तर, ठोस काम नगरेको अवस्था हो ।

अहिले धेरै गाडीका डिलरहरु बन्द हुने अवस्थामा रहेका छन् । यो मानिसहरुलाई सम्बृद्ध बनाउने दिशामा पक्कै पनि छैन । यो क्षेत्रमा आएको उतारचढाव मुलुकको लागि नै महङ्गो हुने अवस्था छ ।

नाडामा नयाँ कार्यसमिति आएसँगै तपाईहरुले अर्थमन्त्री, अर्थसचिव, गर्भनर लगायतका सरोकारवाला व्यक्तिलाई भेटेर आफ्नो कुरा राख्नु भयो । तर, किन सुनुवाई भएन ?

हामीले सरकारमा रहेका सबै सरोकारवालाहरुसँग यस बिषयका कुराकानी गर्नका लागि भेट गरिसकेका छौं । हरेक भेटमा हामीलाई आश्वासन दिने गरिएको छ तर, कार्यान्वयन भने भएको छैन । मुद्दाहरु अझै गम्भीर हुँदै गइरहेका छन् । सरकारले अटो क्षेत्रसँग कस्तो व्यवहार गर्न खोजेको हो र हामीसँग पनि कस्तो सम्बन्ध राख्न खोजेको हो भन्ने बिषयमा गम्भीर रुपले सोच्नु पर्ने भएको छ । अटो व्यवसाय अहिले ध्वस्त हुने अवस्थामा छ । कम्पनीहरु अब लामो समय टिक्न सक्ने अवस्थामा छैनन् । र, यसले वित्तिय र रोजगारीको क्षेत्रमा ठूलाे तरङ्ग पैदा गर्नेछ ।

सरकारको अगाडि सधै रक्षात्मक भूमिकामा अटो व्यवसायी देखिने गरेका छन् । के तपाईहरुले अटोमोवाइलको आवश्यकता बुझाउन नसक्नु भएको हो ?

हामी रक्षात्मक भएका छैनौं । हाम्रो विवेकपूर्ण प्रस्तुतिलाई रक्षात्मकताको रुपमा हेरिएको हो । हामी सरकारलाई हरेक ढंगले सहयोग गर्न तयार छौं । हामीले हरेक भेटमा अवस्थाको वास्तविक चित्रण गर्नेगरि प्रस्तुत हुने गरेका छौं । हामीलाई आशा र भरोसा पनि दिने गरिएको छ । तर, अटो क्षेत्रको ब्यापार ४२ प्रतिशतले घटिसकेको छ । र, यो हाम्रालागि आत्तिनुपर्ने अवस्था हो । हामीले छिट्टै कदम चाल्नु पर्ने भएको छ । स्थिति हातबाट बाहिर जाँदैछ ।

अहिले नयाँ प्रदुषण मापदण्डका सवारीसाधन नेपाल आउन थालेका छन् तर, सरकारले प्रदुषणको नयाँ मापदण्ड तोक्न सकेको छैन । यस्तोमा तपाईहरुले कसरी काम गर्दै हुनुहुन्छ ?

विश्वका धेरै देशहरुले पर्यावरणलाई गम्भीर रुपले लिने गरेका छन् । भारतले आगामी अप्रिल १ देखि बीएस-६ लाई वाध्यकारी बनाएको छ । युराेपियन युनियनका धेरै देशहरूमा युरो-६ का सवारीहरू सञ्चालन भइरहेका छन् । हामीले अगाडीको लामो बाटो तय गर्नुछ । हामी युरो-३ मा मात्र छौं । हामीले यसलाई अपग्रेड गर्दै त्यसको कार्यान्वयन पक्षमा ठोस कदम चाल्नु अत्यावश्यक भएकाे छ ।


Back_to_top