राष्ट्रिय यातायात महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य नै पक्राउ

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् । 

सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट आज पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र एक व्यवसायीसहित पाँचजनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । 

पक्राउ परेका पाँचैजनालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सिन्डिकेट खारेज गर्ने सरकारको नीतिविरुद्ध लागेकाले उनीहरुलाई पक्राउ गरिएको पोखरेलले बताए । 

सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यातायात संघ र समितिका पदाधिकारीसहित सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । 


Back_to_top