काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाको चक्रपथ र काठमाडौं उपत्यकाभित्र मोनोरेल सञ्चालनका लागि सहमत भएका छन् । दुई महनगरले संयुक्तरुपमा सम्भाव्यता अध्ययन गर्न चिनियाँ कम्पनीसँग सम्झौता समेत गरेका छन् ।
२८.५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनी सीआरसीसीसँग सम्झौता भएको हो । सम्झौता पत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र रेलवेका महाप्रबन्धक ली होङ कीले हस्ताक्षर गरेका छन् । ६ महिनाभित्र सम्भाव्यता अध्ययन सकेपछि परियोजनाबारे विस्तृत अध्ययन अघि बढ्नेछ ।
सम्झौताअनुसार रेलवे कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक र प्राविधिक पक्षका साथै आयोजनाको उपयुक्त रुट तथा विकल्पबारे अध्ययन गर्नेछ ।
शुक्रबार भएको सम्झौता कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालभित्र मोनोरेल सञ्चालनमा आइसक्ने दाबी गरे । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चक्रपथभित्र मोनोरेल बनाउन ढिलो भइसकेको बताउँदै यसको शुभारम्भ भएको बताए ।
कम्पनीका महाप्रबन्धक होङ कीले तोकेको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यसले सहरको यातायात व्यवस्थापनमा सहज हुने बताए । मोनोरेलको निर्माणपछि राजधानीको ट्राफिक अस्तव्यस्तता हटाउन, सवारी दुर्घटना घटाउन, ध्वनि प्रदूषण कम गर्न, पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।