किवेको पहिलो प्रिमियम इलेक्ट्रीक स्कुटर बिक्री सुरू, रेन्ज १८० किमी

काठमाडौं । इटालियन मोटरसाइकल ब्राण्ड किवेले भारतमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम परफर्मेन्स इलेक्ट्रीक स्कुटर किवे हाइपभोल्ट आर बिक्री सुरू गरेको हो ।

कम्पनीले भारतीय बजारमा किवे हाइपभोल्ट आर ईभी स्कुटरको मूल्य १ लाख ९९ हजार भारु (एक्स–शोरुम) तोकेको छ । स्कुटर खरिद गर्न चाहने ग्राहकले सुरुमा ५ हजार भारु टोकन रकम तिरेर बुकिङ गर्न सक्ने कम्पनीले बताएको छ । यसको डेलिभरि मिति भने तय भएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर ईजेडआई हाइपभोल्ट नामबाट बिक्री हुँदै आएको छ । हाइपभोल्ट आर क्रिस्टल ह्वाइट र प्लाटिनम ग्रे गरी दुई कलरमा छान्न सकिन्छ । डिजाइनका आधारमा हाइपभोल्ट आरले बजारमा उपलब्ध अधिकांश इलेक्ट्रीक स्कुटरभन्दा फरक पहिचानको छ ।

यसमा परम्परागत स्टेप–थ्रु डिजाइनको सट्टा बीचमा स्पाइन राखिएको छ । जसले यसलाई स्कुटर र मोटरसाइकलको मिश्रित शैली प्रदान गरेको छ । अगाडिको भागमा ठाडो एलईडी हेडलाइट, ह्याण्डलबारमा काउलविहीन डिजाइन तथा एप्रोनमै जडान गरिएको इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । पछाडिको छोटो डिजाइनले यसलाई बबर मोटरसाइकलजस्तो आकर्षक लुक दिएको छ ।

हाइपभोल्ट आर फिचर लोडेड छ । यसमा ५ इन्चका टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटूथ कनेक्टिभिटी, फोन पेयरिङ, नटिफिकेसन, स्क्रीन प्रोजेक्सन, नेभिगेसन सपोर्ट उपलब्ध छ ।

यसमा कीलेस गो, ट्र्याक्सन कन्ट्रोल, डुअल–च्यानल एबीएस, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, रिभर्स मोड, रिभर्स क्यामेरामार्फत ब्लाइण्ड स्पट डिटेक्सन, इको, नर्मल र स्पोर्ट गरी तीनवटा राइडिङ मोड तथा केही एडास आधारित सुरक्षा फिचर उपलब्ध छन् ।

स्कुटरमा अगाडि र पछाडि दुवैतर्फ १४ इन्चको अलोय ह्वील, २७ लिटर अण्डर सिट स्टोरेज, डुअल डिस्क ब्रेक, टेलिस्कोपिक फ्रन्ट फोर्क तथा ट्विन रियर शक उपलब्ध छ ।

हाइपभोल्ट आरमा निकाल्न मिल्ने दुईवटा ब्याट्री प्याक प्रयोग गरिएको छ, जसको कुल क्षमता ५ किलोवाट आवर रहेको छ । कम्पनीका अनुसार यसले एकपटकको फुलचार्जमा १८० किलोमिटरसम्म आइडीसी रेन्ज दिन्छ । ब्याट्रीलाई घरमै चार्ज गर्न सकिन्छ । यो स्कुटर ० देखि ८० प्रतिशत चार्ज हुन करिब ३ घण्टा समय लाग्ने कम्पनीको दाबी छ ।

यसमा जडान गरिएको इलेक्ट्रीक मोटरले करिब १६ बीएचपी सम्मको पावर जेनेरेट गर्छ । स्कुटरको टप स्पीड ११५ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरले ० देखि ४० किलोमिटर प्रतिघण्टाको स्पीड केवल २.३ सेकेण्डमा पूरा गर्न सक्छ ।


Back_to_top