काठमाडौं । किया मोटर्सले नयाँ दुई इलेक्ट्रीक कार बजारमा ल्याउने भएको छ । कम्पनीले बजारमा ल्याउने तयारी गरेको दुई इलेक्ट्रीक कार ‘इभी ४ र इभी ७ वा इभी ८’ नाममा आउने अनुमान गरिएको छ ।
कियाले यी दुई गाडीलाई ५८ किलोवाट आवरदेखि ७७.४ किलोवाट आवरको व्याट्री प्याकमा ल्याउने अनुमान गरिएको छ । हुन्डाई मोटर ग्रुपको इ-जिएमपी आर्किटेक्चरमा तयार हुने यी इलेक्ट्रीक गाडी निकै प्रिमियम फिचरको साथ बजारमा आउने छन् ।
इभी ४ गाडीमा ३५० किलोवाट क्षमताको फस्ट चार्जर प्रयोग गर्न मिल्ने छ । रियर ह्वील ड्राइभको सिंगल मोटर र अलह्वील ड्राइभ दुबै सिस्टममा यो कार आउने छ ।
कम्पनीले इभी ४ लाई २०२२ मा अन्तर्राष्ट्रिय बजारमा उतार्ने छ भने २०२३ को सुरुवातबाट विक्री सुरु गर्नेछ । यसको ग्लोबल प्रिमियर भने २०२२ को पहिलो हाफमा हुने अपेक्षा गरिएको छ ।
त्यसपछि मात्रै कियाले इभी ७ वा इभी ८ बजारमा ल्याउने छ । सन् २०२१ मा कम्पनीले इभी ६ बजारमा ल्याएको थियो । सन् २०२५ सम्म ११ इलेक्ट्रीक मोडल उत्पादन गर्ने लक्ष्य लिएर कियाले काम गरिरहेको छ ।
कियाले उत्पादन गरेको पहिलो सोल इभी र निरो नेपाली सडकमा चलिरहेका छन् भने इभी ६ नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । सम्भवत कन्टिनेन्टल ट्रेडिङले इभी ६ लाई २०२२ को दोस्रो क्वाटरसम्ममा नेपाल ल्याउने छ ।

