काठमाडौं । कोरियन कार निर्माता कम्पनी कियाले भारतीय बजारमा माइक्रो एसयूभी उत्पादन गर्ने भएको छ । कम्पनीले भारतमा उत्पादन गर्ने नयाँ माइक्रो एसयूभी मोडल इभी र आईसी दुबै भर्सनमा उपलब्ध हुनेछ ।
कियाले सन् २०१९ बाट भारतीय बजारमा कार उत्पादन सुरु गरेको हो । कम्पनीले भारतमा तीन मोडल सेल्टोस, सोनेट र कारेन्सको उत्पादन र विक्री वितरण गर्दै आएको छ । यस्तोमा कियाले ‘एवाई’ कोड नेममा माइक्रो एसयूभी उत्पादनको काम अगाडि बढाएको रिपोर्टहरु सार्वजनिक भएका छन् ।
कियाले सन् २०२३ को जनवरीमा हुने अटोएक्स्पोमा नयाँ मोडलको कन्सेप्ट सार्वजनिक गर्ने र सन् २०२५ को सुरुवातसँगै यसलाई बजारमा विक्री गर्ने रणनीति निर्माण गरेको छ ।
कियाले ‘एवाई’लाई अहिले विक्री हुँदै आएको सोनेटभन्दा तल राखेर बजारमा ल्याउने छ । यो मोडल कियाको इन्ट्री लेभल एसयूभी हुने अनुमान गर्न सकिन्छ । साथै, भारतमा उत्पादन हुने कियाको पहिलो इलेक्ट्रीक कारको रुपमा यसलाई बजारमा ल्याउने छ । कियाको आन्द्र प्रदेशमा रहेको अनन्तपुर प्लान्टमा यो गाडी उत्पादन हुनेछ ।
कियाले कोरियामा उत्पादन गरेको निरो इभी नेपाली बजारमा उपलब्ध रहेको छ । तरपनि सप्लाई नहुँदा पछिल्ला केही महिनादेखि निरो नेपाली बजारमा उपलब्ध छैन । साथै, कम्पनीले चाँडै इभी ६ मोडल नेपाल ल्याउने तयारी गरेको छ ।
भारतमा उत्पादन भएका सबै गाडी नेपाल आइरहेको कारण कियाले भारतमा उत्पादन गर्ने माइक्रो एसयूभी पनि नेपाल आउने विश्वास गर्न सकिन्छ ।

