काठमाडौं । टेस्लाको चर्चित इलेक्ट्रीक कार ‘मोडल वाई’ नेपाल आएको छ । अरेटी इन्टरनेशनलले नेपाल ल्याएको टेस्ला मोडल वाई अब नेपालमा आधिकारीक विक्री सुरु हुनेछ ।
‘अहिले एक यूनिट मात्रै गाडी आएको थियो । त्यसलाई हामीले डेलिभरी दिएका छौं । यस बीचमा धेरै ग्राहकले हाम्रो गाडी हेरेका छन् । अहिले हामी बुकिङ लिइरहेका छौं । वातावरण सहज भएको खण्डमा तीन महिना भित्र डेलिभरी दिन्छौं’, अरेटी इन्टरनेशनल स्रोतले मेरोअटोसँग भन्याे ।
लामो कानुनी लडाईपछि अरेटीले आधिकारीक विक्रेताको रुपमा टेस्लाका कार नेपाल ल्याउन थालेको हो ।
विशेषत सुरक्षालाई ध्यानमा राखेर तयार भएको मोडल वाईमा इम्प्याक्ट प्रोटेक्सन, निकै बलियो बडी स्टक्चर र लो सेन्टर अफ ग्राभिटी पाउन सकिन्छ । यसका अलवा कम्पनीले यसमा टेक्नोलोजीमा आधारित ५० भन्दा धेरै सुरक्षा फिचर प्रदान गरेको छ ।

टेस्ला मोडल वाईमा २० इन्चको अलोय ह्वील, पावर एड्जस्टेवल अगाडि र पछाडिको सिट, सबै हिटेड सिट, प्रिमियम अडियो सहितको १३ वटा उफर, एलइडी फगल्याम्प, १५ इन्चको इन्फर्मेशन डिस्प्ले रहेको छ ।
टेस्लाको मोडल वाई रियर ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । रियर ह्वील ड्राइभमा २०९ किलोवाट क्षमताको मोटर छ भने अल ह्वील ड्राइभ सिस्टममा अगाडि र पडाडि रहेको दुबै मोटरको कम्वाइन्ड मोटरको पावर २९१ किलोवाट रहेको छ । साथै, कम्पनीले यसमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
नेपाली बजारमा रियर ह्वील ड्राइभ अप्सनको मूल्य १ करोड ६० लाख रुपैयाँ तोकिएको छ भने अल ह्वील ड्राइभको १ करोड ७५ लाख मूल्य निर्धारण गरेर कम्पनीले बुकिङ खुल्ला तथा विक्री सुरु गरेको हो ।

