कोनालाई टक्कर दिन १०० किलोवाटको मोटरमा आउँदै सोल ईभी

काठमाडौं । कोरियन कार निर्माता कम्पनी कियाले आफ्नो सानो एसयूभी सोलको नयाँ इलेक्ट्रीक भर्सन सार्वजनिक गरेको छ । कम्पनीले विश्वब्यापी रुपमा बढ्दो ईभीको माग सम्बोधन गर्न सोलको नयाँ जेनेरेशन मोडल ल्याएको जनाएको छ ।

कियाले सोल ईभीलाई दुई ब्याट्री अप्सन र फरक पावर अप्सन दिएर ल्याएको छ । कम्पनीले सोललाई हुन्डाई कोना र किया निरोको जस्तै ३९.२ किलोवाट आवर र ६४ किलोवाट आवरको ब्याट्री अप्सन प्रदान गरेको छ । सानो ब्याट्री भएको सोल ईभीले फुल चार्जमा २७५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

कियाले अहिले अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको सोल ईभीमा ६४ किलोवाटको ब्याट्री र १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । ठूलो मोटर भएकै कारण नेपालमा यसको मूल्य महंगो पर्ने भएको कारण कम्पनीले आयात गरेको छैन ।

तर, कियाले सानो ब्याट्री भएको नयाँ सोल ईभीमा १०० किलोवाट पीक पावरको मोटर दिएको छ । यसको मतलव नयाँ सोल ईभीको अधिकतम पावर १३४ हर्स पवार र ३९५ एनएम टर्क रहेको छ । नयाँ सोल ईभीलाई सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन केवल ९.९ सेकेन्ड मात्रै लाग्छ । यसको टप स्पीड क्षमता १५६ किलोमिटर प्रतिघन्टा रहेको छ ।

१०० किलोवाट मात्रै पीकपावर भएको मोटर जडान भएको कारण नेपालमा सोलको नयाँ भर्सनमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर तिर्दा पुग्छ । त्यसैले यो कार चाँडै नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गरिएको छ ।

नयाँ सोल ईभीमा ३.३ किलोवाटको चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १८ घन्टा लाग्छ । त्यस्तै ७.२ किलोवाटको चार्जरले ६ घन्टामा फुल चार्ज गर्छ भने ८० किलोवाट क्षमताको फास्ट चार्जरले सून्यदेखि ८० प्रतिशत चार्ज गर्न ५४ मिनेट लगाउने छ ।

किया सोल ईभीमा फुल एलइडी हेडल्याम्प, १७ इन्चको अलोय ह्वील, १०.५ इन्चको टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको ओलेड कलर ड्राइभर इन्ट्रुमेन्ट क्लष्टर, रिभर्स पार्किङ क्यामेरा, अटोमेटीक एयर एसी, एडप्टीभ स्मार्ट क्रुज कन्ट्रोल लगायतका फिचर उपलब्ध रहेको छ ।


Back_to_top