काठमाडौं । निसान म्यागनाइट र रेनो काइगर एउटै प्लान्टमा उत्पादन भएका दुई फरक मोडल हुन् । भारतमा रेनो र निसानका उत्पादन एउटै प्लान्टमा तयार हुन्छन् भने अधिकांश पाटर्सपनि सियर गरिरहेका छन् ।
उसोत रेनो र निसान ग्लोवल एलायन्स बनाएर आफ्नो उत्पादन र बजार हिस्सा बढाउन लागि परेका छन् । रेनो फ्रेन्च ब्राण्ड हो भने निसान जापानी ब्राण्ड हो । यी दुबै ब्राण्ड विश्वको मास भेहिकल उत्पादकमा स्थापित छन् । एक अर्को कम्पनीमा क्रस होलडिङ सहित दुबै कम्पनीले काम गरिरहेका छन् ।
निसानले म्याग्नाइट नेपाल ल्याएको ५ महिना भइसकेको छ भने, रेनो काइगर नेपाल आइपुगेको छ । कम मूल्यमा निसान म्याग्नाइट पाउने भएपछि धेरै ह्याचव्याक कार किन्ने मानिसको रोजाइमा म्याग्नाइट परेको थियो । सुरुवाती मूल्य २९ लाख ४९ हजारबाटै म्याग्नाइटको विक्री सुरु भएको थियो ।
अब म्याग्नाइटलाई टक्कर दिन रेनो काइगर नेपाल आएको छ । विभिन्न ५ भेरियन्टमा नेपाल आएको काइगरको सुरुवती भेरियन्टको मूल्य २८ लाख ४९ हजार तोकिएको छ । जुन निसान म्याग्नाइटको तुलनामा १ लाख रुपैयाँ सस्तो हो । रेनोले अन्य भेरियन्टको मूल्य बाहिर ल्याएको छैन । यस्तोमा यी दुई कम्पनी बीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।

यसअघि पनि निसान र रेनोले उस्तै किसिमका उत्पादन ल्याएर प्रतिस्पर्धा गरेकै हुन् । रेनो डस्टरबाट प्रेरित भएर निसानले टेरानो बजारमा ल्याएको थियो । अहिले रेनोले म्याग्नाइटबाट प्रेरित भएर काइगर ल्याएको जस्तो देखिन्छ ।
निसान म्याग्नाइट र रेनो काइगरमा एउटै १.० थ्रि सिलिण्डर नेचुरल एस्पायर्ड र १.० टर्बो पेट्रोल इन्जिन अप्सन रहेका छन् । जसले क्रमश ७१ बीएच पावर तथा ९८ एनएम टर्क तथा ९९ बीएच पावर तथा १६० एनएम टर्क उत्पादन गर्नेछ । यी दुबै साना एसयूभीको डिजाइन ल्याङ्वेज र फ्रन्ट फेसिका भने फरक रहेको छ । यस बाहेक दुबै एसयूभीमा लगभग समान फिचर पाउन सकिन्छ ।
यी दुबै गाडी विशेषत युवा पुस्तालाई ध्यानमा राखेर उत्पादन गरिएको कम्पनीको दावी छ । स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर काइगरमा पाउन सकिन्छ ।

छतमा दिइएको स्पोइलर र सार्क फिन एन्टेना काइगरलाई स्पोर्टी देखाएको छ । ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका धेरै फिचरले काइगरलाई उत्कृष्ट बनाएको कम्पनीको दावी छ ।
निसान म्याग्नाइटमा अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, मोवाइल होल्डरको साथ रियर आर्मरेष्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेशन जस्ता फिचर पाउन सकिन्छ ।
कारमा दिइएको लाइटहरु सबै एलइडी प्रयोग गरिएको छ भने ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक बनाएको छ ।

