काठमाडौं । लीपमोटरको पहिलो एसयूभीको रूपमा नेपाली बजारमा आएको सी-१० ले बिक्री थालेको एक वर्ष पूरा भइसकेको छ । एक वर्षको दौरान ४४९ युनिट सी १० नेपाल आइसकेको देखिन्छ ।
ठूलो साइज, ४०० किलोमिटर आसपास रेन्ज, निकै लग्जरी सिट, २० इन्चको ह्वील र १६० किलोवाट क्षमताको मोटर भएको कारण यसलाई धेरैले मनपराए । यसको अर्को बलियो पक्ष बडी डिजाइन पनि हो । परम्परागत एसयूभीकै झल्को आउने सी-१० मा फ्लस टाइप डोर ह्याण्डल र लग्जरी कारको बडी डिजाइनमा उपलब्ध छ ।
सामान्यतया लीपमोटरको एसयूभी सस्तो नै मानिन्छ । सुरूमा ६९ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरू भएको सी-१० अहिले ६४ लाख ९९ हजार रुपैयाँमै किन्न पाइन्छ । कम्पनीले ५ लाख रुपैयाँ मूल्य समायोजन गरेको हो ।
सुरूमा नेपाल ल्याएको २ युनिट डेमो भेहिकल मध्ये एउटा हामीले एक वर्षपछि पुनः चलाएर हेरेका हौं । यसअघि नै यसको विस्तृत भिडियो मेरोअटो डटकमले प्रकाशित गरिसकेको छ ।
पुरानो गाडी चलाएपछि…
एक वर्षपछि १५ हजार किलोमिटर चलेको र टेस्ट ड्राइभकै रूपमा प्रयोग भएको गाडी चलाएर हेर्दा केही फरक पाउन सकिएन । किनभने यसको रेन्ज, पावर र पर्फमेन्समा केही फरक परेको अनुभव भएन ।

ड्यासबोर्ड, सिट र बडी कलरपनि नयाँकै अवस्थामा थियो । यद्यपि, कम्पनीले टेस्ट ड्राइभ भेहिकलकै रुपमा प्रयोग गरेको भए पनि गाडीमा केही समस्या आएको होला कि भन्ने हाम्रो आँकलन थियो ।
काठमाडौं-कुलेखानी-हेटौडा-चन्द्रपुर-वीरगंज पुगेर पथलैया-हेटौंडा हुँदै काठमाडौंसम्म ४०० किलोमिटर हाराहारी चलायौं । उक्त ड्राइभमा गाडीलाई १६० किलोमिटर प्रतिघन्टासम्मको स्पीडमा चलाएर हेरियो । उक्त स्पीडमा पनि गाडीको बडीबाट कुनै किसिमको आवाज आएन ।
हल्का अफरोड भएको स्थानमा चलाउन पनि निकै सहज लीपमोटर सी-१० एसयूभी लगभग नेपाली बटोलाई ध्यानमा राखेर तयार पारेको भन्न सकिने खालको छ । यसका केही बलिया पक्षको बारेमा यहाँ चर्चा गरौं ।

ठूलो इन्टेरियर
सी-१० एसयूभी ५ सिट क्षमतामा आउँछ । निकै फराकिला सिट, प्रसस्ट लेग र हेडरूम पाउन सकिन्छ । स्टोरेजहरू पनि राम्रो छ ।
प्रविधिको प्रयोग
लीपमोटरको पहिलो अन्तर्राष्ट्रिय मोडल भएको कारण यसमा एडास २.०, एडाप्टिभ एलईडी लाइट, वायरलेस चार्जिङ, १२ वटा स्पीकर र प्यानोरामिक सनरुफको प्रयोग भएको छ ।
सुरक्षामा अब्बल र तान्ने क्षमता गज्जब
अष्ट्रेलियन एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएको सी-१० को बडी निकै मजबुत छ । ‘सेल टु चेसिस’ डिजाइनको कारण यो एसयूभी निकै बलियो छ । साथै, १५०० केजीसम्म टोइङ क्षमता रहेको एसयूभीमा भेहिकल टु लोड र बाहिरको आवाज भित्र नआउनेगरी साउण्ड प्रुफ गरिएको छ ।

केही कमजोरी
तुलनात्मक रूपमा अन्य प्रतिस्पर्धीभन्दा सस्तो मूल्यमा आउने भएको कारण यसमा कस्ट कटिङ गर्नु स्वभाविक हो । त्यसैले यसको अगाडि बस्ने प्यासेन्जरको लागि हात झुन्ड्याउने ह्यान्डिल दिइएको छैन । यो सामान्य कुरामा कन्जुसाई गरेको भान हुन्छ ।
सस्पेन्सन पक्की बाटोको लागि उत्कृष्ट फिल दिन सक्षम छ । तर, खाल्डाखुल्डी र कच्ची बाटोमा कडा अनुभव हुन्छ । यसमा अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ ।

