काठमाडौं । लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले सी-१० एसयूभीमा आकर्षक अफर गरेको छ । कम्पनीले जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ७ लाख रुपैयाँ नगद छुटसहितको स्कीम ल्याएकाे हो ।
अघिल्लो वर्ष भदौमा पहिलो पटक नाडा अटो शो मार्फत नेपाली बजारमा डेब्यू गरेको सी-१० एसयूभीलाई कम्पनीले ७२ लाख रुपैयाँ मूल्य राखेर बिक्री थालेको थियो । तर, त्यति बेला चाडपर्व र अटो शो स्कीमभन्दै ६७ लाख ९९ हजार रुपैयाँमा गाडी दिएको थियो ।
अघिल्लो वर्षकोभन्दा पनि राम्रो अफर यस पटक नाइमा मोविलिटी एक्स्पोमा सी-१० एसयूभी किन्नेले पाउने भएका हुन् । साँग्रिला मोटर्सले ६४ लाख ९९ हजार रुपैयाँमा नै सी-१० दिने भएको हो ।
लिप मोटर्सको सी-१० निकै ठूलो साइजको एसयूभी हो । बल्की डिजाइन, १६० किलोवाटको पावरफुल मोटर भएको एसयूभीलाई ‘मोर देन पावरफुल’ नारासहित बिक्री गर्दै आएको छ ।

युरोपमा बिक्री हुँदै आएको सी-१० एसयूभीको बडी स्ट्रक्चर पनि निकै बलियो रहेको छ । यसले यूरो एनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।
फिचरहरूको लामो लिष्ट उपलब्ध एसयूभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स छ । साथै, ४३५ लिटरको बुट स्पेश र २८२५ एमएम लामो ह्वीलबेसले झन्झट रहित र आरामदायी यात्रा गराउने छ ।
लीपमोटरले यसमा अगाडि क्लोज अफ ग्रिल, एलईडी हेडलाइट, डे टाइम रनिङ लाइट, रुफ र्याक, पानारोमिक शनरुफ, पावर टेलगेट, रियर प्राइभेसी ग्लास, हिडन डोर ह्याण्डल जस्ता हाडवयर प्रयोग गरेको छ ।
सी-१० को क्याबिनमा सफ्टटच मेटेरियरल प्रयोग गरेर बनाइएको ड्यासबोर्ड, चालकको हाइट अनुसार ४ तरिकाले मिलाउन मिल्ने स्टेरिङ, हिडन एसी भेन्ट, हिटेड र भेन्टिलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, हिटेड स्टेरिङ जस्ता प्रिमियम फिचर छन् ।
१०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले र १४.६ इन्चको सेन्ट्रल टच स्कृन दिइएको एसयूभीमा वायरलेस चार्जर, १२ स्पीकर, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट सिस्टम दिइएको छ । यस भित्र झण्डै दुई दर्जन सेफ्टी फिचर छन् ।
लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ ।

