काठमाडौं । नेपाली पहिलो अटोमोवाइल स्टार्टअप कम्पनी ‘यात्री’ले निर्माण गरेको ‘पी-१’ मोटरसाइकलको विक्री चाँडै सुरु गर्न लागेको छ । केही दिन अगाडि कम्पनीले झम्सिखेलमा ‘पी १’ मोडलको टेष्ट ड्राइभ कार्यक्रमको आयोजना गरेको थियो ।
यसअघि अगष्ट अन्तिमबाट विक्री सुरु गर्ने तयारी गरेको भएपनि कोभिड १९ संक्रमण लगायत विभिन्न कारणले केही ढिलो हुन पुगेको कम्पनीले जनाएको छ ।
‘हामीले अगष्ट अन्तिमबाट विक्री गर्ने योजना बनाएका थियौं । तर, विविध कारण सम्भव भएन । अब नोभेम्वरमा यसको विक्री सुरु गर्नेछौं । यसका लागि शोरुम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ’, कम्पनीका सिइओ बत्सल पान्डेले मेरोअटोसँग भने ।
यात्री पी-१ नेपाली युवा इन्जिनियरको टिमले नेपालमा नै डिजाइन र उत्पादन गरेको मोटरसाइकल हो । यो इलेक्ट्रीक पावरबाट चल्ने छ ।
यात्रीले दुई मोडलको मोटरसाइकल निर्माण गरिरहेको छ, त्यसमा पी-० लिमिटेड एडिसन हो ।

यात्रीको पी-१ मोटरसाइकलले १९ पीएस पावर र ९० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । चेन ड्रइभ सिस्टममा तयार भएको पी-१ मोडलमा ठूलो स्पोर्केट प्रयोग गरिएको छ । स्टाइल बडी फ्रेममा तयार भएको यो एड्भेन्चर मोटरसाइकलमा १७ इन्चको टायर प्रयोग गरिएको छ ।
यस्तो छ मूल्य
कम्पनीले पी-१को मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ लिइरहेको छ । यात्री पी-१ खरिद गर्न चाहाने ग्राहकले यात्रीको वेवसाइटमा गएर बुकिङ गर्न सक्नेछन् । ग्राहकले १० हजार रुपैयाँ टोकन रकमको रुपमा बुझाउनु पर्ने कम्पनीले जनाएको छ । उक्त रकम ग्राहकले मोटरसाइकल खरिद गर्न नचाहेमा फिर्ता हुनेसमेत कम्पनीले बताएको छ ।

