चारलेनको मादी ‘आर्क ब्रिज’ निर्माण अन्तिम चरणमा, ८४% सकियो काम

काठमाडौं । मुग्लिन-पोखरा सडक योजना अन्तर्गत मादी नदीमा चारलेनको ‘आर्क ब्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ८४ प्रतिशत सम्पन्न भएको हो । त्यस्तै, यसको वित्तीय प्रगति ८१.२ प्रतिशत पुगेको छ ।

मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड)का इन्जिनीयर विष्णुप्रसाद पाण्डेका अनुसार मादी पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ ।

उनका अनुसार हाल उक्त पुलको दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताए । पुलको वारिपारी दुई÷दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान र सुपर स्ट्रक्चरको काम सम्पन्न भइसकेका छ । अब पुलको बीचको भागमा रहेको आर्क कंक्रिटिङको काम मात्र बाँकी छ । हाल कंक्रिटिङको काम धमाधम भइरहेको उनले बताए । ‘मिडल स्पान दुई वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम भइरहेको छ ।’

३१५ मिटर लामो चारलेनको उक्त पुलमा ६ वटा स्पान छन् । यो पृथ्वी राजमार्गकै सबैभन्दा लामो पुल समेत हो । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्ट्रक्चर भएको यो मुलुककै पहिलो पुल समेत हो ।

३ वर्षभित्र सम्पन्न गर्नेगरी जेडआइष्ट अन्नक जेभीले २०७९ साउन २६ गते १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तोकिएको म्याद २०८२ साउन २६ गते सकिएपछि २०८३ असार १९ गतेसम्म थपिएको छ । थपिएको म्याद अब डेढ महिना मात्रै बाँकी छ ।

मादी नदीमा यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण गर्न लागिएको हो ।

मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्ड (आँबुखैरेनी-जामुने ) ४१.४५ किलोमिटर पुल र सडक निर्माण सम्पन्न भइसकेको छ । वि.सं. २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चारलेनको सडक बनाइएको हो ।


Back_to_top