काठमाडौं । महिन्द्राको सर्वाधिक विक्री हुने एसयूभी स्कर्पियो नेपालमा सहजै किन्न मुस्किल पर्छ । कोभिड १९ को संक्रमण सुरु भएदेखि नै स्कर्पियोको सप्लाईमा समस्या हुँदा भन्ने वित्तिकै किन्न आउने अवस्था थिएन ।
नेपालको हाइवेमा सर्वाधिक देखिने स्कर्पियो निजी र पर्यटक ओसार पसारमा निकै सफल एसयूभी हो । सन् २००२ देखि बजारमा आएको स्कर्पियो नेपालमा सन् २०१० देखि लगातार सफल मोडलको रुपमा विक्री हुँदै आएको छ । एसयूभीको पर्यावाची बनेको स्कर्पियोलाई धेरैले ‘नाम नै काफी छ’ भनेर सम्बोधन गरेको सुन्न पाइन्छ ।
अग्नी इन्कर्पोरेट प्रालिले आधिकारीक रुपमा विक्री गर्दै आएको स्कर्पियो गुणस्तर, टिकाउपन र जस्तो सुकै बाटोमा सहजै लान सकिने भएकोले सफल भएको हो । त्यसमा पनि स्कर्पियो डबल क्याव पीकअपले यसको क्षमतालाई थप प्रस्ट पार्दै आएको छ ।
पहाडी बाटोको राजा नामले पनि यसलाई सम्बोधन गरेको सुनिन्छ । नेपालमा यति चर्चित हुनुको पछाडि स्कर्पियोको यी क्षमतालाई पाखा लगाउन मिल्दैन ।
सबैभन्दा कम मूल्यको फोर ह्वील ड्राइभ
स्कर्पियो धेरै विक्री हुनुको मुख्य कारण कम मूल्यमा पाइने फोर ह्वील ड्राइभ एसयूभी भएर हो । स्कर्पियो नेपाली बजारमा ५२ लाख ७५ हजार सुरुवाती मूल्य बाटै पाइन्छ भने फोर ह्वील ड्राइभ अप्सनको मूल्य पनि ५७ लाखबाटै सुरु हुन्छ । कम रकममा फोर ह्वील ड्राइभ सिस्टम भएको गाडी पाइने भएको कारण स्कर्पियो खोज्ने थपिदै गएका हुन् ।
दुई इन्जिन अप्सन
डिजेल इन्जिनमा उपलब्ध स्कर्पियोमा दुई इन्जिन अप्सन पाउन सकिन्छ । कम्पनीले यसमा १.९९ लिटर र २.२ लिटर क्षमातका दुई फरक इन्जिन दिएको छ । यी दुबै इन्जिनको पफर्मेन्स उत्कृष्ट रहेको प्रयोगकर्ताहरुको भनाई छ ।
रोडमा उत्कृष्ट देखिनु
बल्की डिजाइन, मस्कुलर ह्वील, आक्रमक फ्रन्ट फेसिका र अग्लो पछाडिको भागले यसलाई निकै आक्रमक देखाएको छ । विशेषत नेपाली खराब बाटोमा पनि यसलाई सहजै लान सकिने भएकाले यसमा धेरै मानिसको ध्यान गएको हो ।

जस्तो सुकै बाटोमा सहज यात्रा
भौगोलिक हिसावले नेपाल पहाड, हिमाल र तराईको मिश्रण रहेको छ भने सडकको अवस्था निकै कमजोर रहेको छ । जस्तो सुकै हिलो, धुलो वा पक्की सडकमा उत्कृष्ट पर्फमेन्स गर्न सक्ने भएकोले यसलाई धेरैले किन्ने गरेका छन् । विशेष गरेर नेता तथा आइएनजीओ र ट्राभल एजेन्सीहरुको रोजाईमा स्कर्पियो पर्दै आएको छ ।
निकै धेरै स्थान
धरैभन्दा धेरै मानिस बोक्न सकिनेगरी यसलाई बनाइएको छ । स्कर्पियोमा ९ जनासम्मले सिटमा बसेर यात्रा गर्न सक्नेछन् । कम्पनीले यसलाई ७, ८ र ९ सिट क्षमताको बनाएर विक्री गर्दै आएको छ ।
सर्वाधिक नेटवर्क
महिन्द्रा नेपालमा प्यासेन्जर कार विक्री गर्ने मध्ये सबैभन्दा धेरै नेटवर्क भएको ब्राण्ड हो । विशेषत प्यासेन्जर र लाइट कमर्शियल गाडी अग्नी इन्कर्पोरेटले विक्री गर्दै आएकोले यसको नेटवर्क देशको कुना कुनासम्म पाउन सकिन्छ । नेटवर्कको संख्यासँगै स्पेयर पार्टस् उपलब्धता पनि निकै राम्रो रहेको छ ।


