वाऊ ! आयोनिक ५

काठमाडौं । सन् २०१५ सम्म विद्युतीय गाडीले तान्छ र ? अथवा विद्युतीय ठूला गाडी पनि हुन्छन् र ? भन्ने विषयमा चर्चा हुने गथ्र्यो । विश्वका ठूला कार निर्माता टोयोटा र फक्सवागनहरू सहरमा चलाउन मिल्ने साना विद्युतीय कारमा लागेका थिए । निसान भने विद्युतीय कारको भविष्यलाई लिएर पहिल्यै ढुक्क थियो । टोयोटा र हुन्डाई भने विद्युतीयभन्दा हाइड्रोजन फ्यूलसेलमा धेरै केन्द्रित थिए ।

त्यसका बाबजुद, नेपालमा हुन्डाईले सन् २०१८ मा नै दुई नयाँ इलेक्ट्रीक कार ल्याएर आफूलाई प्रमाणित गरिसकेको थियो । अहिले कोना नेपालमा राम्रै विक्री हुने मोडलमा पर्छ भने आयोनिक सेडान पनि विक्री भइरहेको छ ।

सन् २०२१ मा विश्व बजारमा आएको हुन्डाई आयोनिक ५ नेपाल आइपुगेको छ । दक्षिण एशियाका अन्य देश र सिंगारपुरभन्दा पनि पहिला नेपाल आएको आयोनिक ५ लाई आज हामीले टेष्ट ड्राइभ गरेका थियौं ।

टेष्ट ड्राइभको लागि गाडी लिन जब म थापाथली स्थित हुन्डाई शोरुममा पुगेको थिएँ । शोरुमको पछाडि रहेको स्टक यार्डमा पुगेर आयोनिक ५ देखिएसँगै मेरो मुखबाट निस्कियो ‘वाऊ ! आयोनिक ५’ । म एकछिन गाडीलाई नियालेर हेर्न बाध्य भएँ ।

आयोनिक ५ हुन्डाईले बनाएको क्रसओभर कार हो । हुन्डाईले ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चर अन्तर्गत डेडिकेटेड इभी प्लेटफर्मको प्रयोग गरेर बनाएको यो क्रसओभर कारले जो कोहीलाई लभ्याउन सक्ने छ ।

सार्प र फ्यूचरिस्टीक डिजाइनको प्रशंसा जति गरे पनि कम हुन्छ भने गाडीको ड्यासबोर्ड निकै स्लिम बनाइएको छ । गाडी भित्र बस्दा पूर्णत फ्री अनुभव हुने आयोनिक ५ को इन्ट्रुमेन्ट क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टमको कम्बिनेशस उत्कृष्ट रहेको छ । यसको कारण नै स्लिकर ड्यासबोर्ड पूर्ण लाग्छ ।

आयोनिक ५ मा हुन्डाईले अलग किसिमको स्टेरिङ ह्वीलको प्रयोग गरेको छ । यसमा हुन्डाईको लोगो देख्न पाइँदैन । यसको अगाडिको कन्सोल र आर्मरेष्ट चालक र अगाडि बस्ने यात्रुको आवश्यकता अनुसार एड्जस्ट गर्न मिल्छ । गाडीमा चार्जिङ पोर्ट पनि प्रसस्त दिएको छ । अगाडि ड्यासबोर्डको तल, आमरेष्टको तल, पछाडि यात्रा गर्नलाई छुट्टाछुट्टै चार्जिङ पोर्ट दिइएको छ । साथै, वायरलेस चार्ज पनि यसमा पाउन सकिन्छ ।

ड्यूल जोन क्लाइमेट कन्ट्रोल यसको अर्को उत्कृष्ट पक्ष हो । यद्यपि, यो फिचर अन्य धेरै गाडीमा पाउन सकिन्छ । ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि दिइएको सेन्सर, ६ वटा एयरव्यागको साथमा आधुनिक सुरक्षा फिचर यसमा दिइएको छ ।

सोलार रुफ, आफ्नो आवश्यकता अनुसार पूर्ण फोल्ड गर्न मिल्ने सिट, पातलो र आकर्षक सिट, रिसाइकल गरिएको प्लास्टिक र फेब्रिकबाट बनेको सफा इन्टेरियर मुख्य विशेषता हो ।

हुन्डाईले आयोनिक ५ लाई ‘एउटा कार मात्रै होइन, यो लिभिङ रुम पनि हो’ भन्ने संदेश दिन खोजेको छ । जसलाई भित्र दिइएको स्पेशले पुष्टी गर्छ भने ल्यापटप लगायतका विद्युतीय उपकरण चार्ज गर्ने व्यवस्था गरेकाले उसको दाबीलाई थप पुष्टि गर्न सहयोग पुगेको छ ।

लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नेपाल ल्याएको आयोनिक ५ मा ५८ किलोवाट आवर क्षमताको ब्याट्री  जडान गरिएको छ । यसले ३५० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्न सक्छ । यद्यपि, नेपालमा त्यो साइजको चार्जर उपलब्ध रहेको छैन । यसले एक पटकको फुल चार्जमा ३५० किलोमिटरभन्दा माथि रेन्ज दिने कम्पनीले जनाएको छ ।

कम्पनीले यो कारको मूल्यको बारेमा केही पनि जानकारी दिएको छैन । यो कारको मूल्य ८२ लाख देखि ८६ लाख रुपैयाँसम्म हुने अनुमान गरिएको छ ।


Back_to_top