नाडा अटो शोको मुख्य आकर्षण जी १ ह्युमनोइड र गो २ क्वाड्रुपेड रोबोट

काठमाडौं । यही भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औं नाडा अटो शोमा मुख्य आकर्षणको रुरुपमा जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट प्रदर्शन गरिने भएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गर्ने अटो शोमा ती दुई फरक खालका रोबोटो देखाइने भएको हो ।

जी १ मानिसजस्तै दुई खुट्टामा हिँड्ने र हात भएको ह्युमोनाइड रोबाोट हो । यसलाई विशेष गरी अनुसन्धान, शैक्षिक प्रयोजन र मानिसले गर्ने जटिल कामहरू सिक्नका लागि डिजाइन गरिएको हुन्छ ।

त्यस्तै, गो२ चारवटा खुट्टा भएको कुकुरजस्तै देखिने क्वाड्रापेड रोबोट हो । यो मुख्यगरी सुरक्षा गस्ती, उद्धार कार्य, सामान ओसारपसार, मानिसलाई पछ्याउने लगायत काममा प्रयोग गरिन्छ ।

भदौ ९ देखि १४ गतेसम्म संचालन हुने अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन् । करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिने अटो शोमा २३ ब्राण्डका प्यासेन्जर कार, १७ ब्राण्डका लाइट कमर्सियल भेइकल, १३ ब्राण्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ ।

त्यस्तै रोबोटिक्स, एआई, डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई प्रदर्शनीको केन्द्रमा राखिएको छ । अटो शोमा नयाँ सवारी लन्चसँगै, विभिन्न प्रविधि, अन्तक्रियात्मक कार्यक्रम पनि संचालन गरिने छ ।

यस वर्षको नाडा अटो शो २०२६’ लाई नाडाले आफ्नो ५०औँ स्थापना वर्षको स्वर्ण जयन्तीसँग जोडेर अझ फराकिलो सन्देश दिने गरी तयारी गरेको हो ।


Back_to_top