काठमाडौं । विश्वभर राइड सेयरिङ सेवा प्रदान गर्दै आएको कम्पनी उबरलाई झण्डै डेढ खर्ब रुपैयाँ जरिवाना गरिएको छ ।
नेदरल्यान्ड्स डेटा संरक्षण प्राधिकरणले शुक्रबार उबर टेक्नोलोजीज ८२ करोड ५० लाख लाख युरो (करिब १ खर्ब ४६ अर्ब रुपैयाँ) जरिवाना गरेको हो ।
डच डाटा संरक्षण निकायले उबरलाई चालकहरूलाई पर्याप्त जानकारी नदिई स्वचालित प्रणालीमार्फत चालकको खाता बन्द गरेको भन्दै जरिवाना गरेको हो । यो कारबाही सन् २०२० देखि २०२२ सम्मको गतिविधिमा आधारित रहेको छ ।
उबरले सो अवधिमा ठगीको आशंका गरिएका चालकहरूको खाता स्वःचालित रूपमा बन्द गरेको थियो । उबरले भाडा बढाउन अनावश्यक लामो बाटो प्रयोग गरेको वा पूरा गर्ने इच्छा नभएका यात्राहरू स्वीकार गरेको जस्ता निष्कर्ष कम्प्युटर प्रणालीले निकालेको थियो।
ग्राहकबाट कम रेटिङ पाउने चालकहरूलाई कहिलेकाहीँ स्थायी रूपमा नै निलम्बन गरिन्थ्यो । यद्यपि, उबरले भने मानिसको समीक्षाबिना कहिल्यै पनि स्थायी रूपमा खाता बन्द नगरेको र अब पूर्ण रूपमा स्वचालित प्रणालीबाट मात्र त्यस्ता निर्णय नगर्ने बताएको छ ।
जीडीपीआरले मानिसको जीवनमा ठूलो प्रभाव पार्ने निर्णयहरू पूर्ण रूपमा एल्गोरिदमबाट मात्र गर्न रोक लगाउँछ । यसका लागि मानवद्वारा गरिने उचित समीक्षा र निर्णयविरुद्ध चुनौती दिने (अपील गर्ने) माध्यम हुन आवश्यक मान्छ । नियामक निकायले उबरले चालकको सो अधिकार र जानकारी पाउने अधिकार दुवैको उल्लंघन गरेको पाएकाले यो ठूलो जरिवाना तोकेको हो।
उबरले यो जरिवानालाई उबरले यो जरिवानालाई अनुपातहीन (अत्यधिक) भन्दै यसविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। यो सजाय जीडीपीआर अन्तर्गतका इतिहासकै दोस्रो ठूलो जरिवाना हो । यसअघि सन् २०२३ मा युरोपेली फेसबुक प्रयोगकर्ताहरूको डाटा गैरकानुनी रूपमा अमेरिका पठाएकोमा आयरल्याण्डले मेटा कम्पनीलाई १ अर्ब २० करोड युरो जरिवाना गराएको थियो । जसका विरुद्ध मेटाले पनि अपील गरिरहेको छ।


