मारुति सुजुकी बन्यो संसारमै सबैभन्दा छिटो २ करोड युनिट कार बनाउने कम्पनी

काठमाडौं । मारुति सुजुकीले २ करोड युनिट कार उत्पादन गरेर भारतकै सबैभन्दा ठुलो कार निर्माता कम्पनी रहेको पुष्टी गरेको छ । सन् १९८३ मा भारतमा प्लान्ट स्थापना गरेर कार उत्पादन गर्दै आएको मारुति सुजुकीले ३४ बर्ष ५ महिनामा २ करोड कार उत्पादन गरेको हो । 

पछिल्ला दिनमा भारतीय बजारमा कार बिक्री उल्लेखनिय रुपमा बढेको छ । यो तथ्यलाई गत मे महिनामा भएको बिक्रीले समेत पुष्टी गर्छ । भारतीय बजारमा गत महिना सबै ब्रान्डको ३ लाख युनिट कार बिक्री भएको भारतीय मिडियाले जनाएका छन् । 

यस्तोमा अहिले ५० प्रतिशत बजार हिस्सा रहेको मारुति सुजुकीले भोलीका दिनमा आफ्नो उत्पादन निकै आक्रमकरुपमा बढाउँदै लाने निश्चित छ । 

यो विश्वमै सर्वाधिक छोटो समयमा २ करोड युनिट कार उत्पादन गर्ने देशको रेकर्डपनि भारतले बनाएको छ । यसअघि जापानको कम्पनीले ४५ बर्ष ९ महिना लगाएर २ करोड युनिट कार उत्पादन गरेको थियो । 

मारुतिले बनाएको २ करोड कारमध्ये सबैभन्दा ठुलो हिस्सा अल्टो कारको रहेको छ । कम्पनीले अहिलेसम्म ३१ लाख ७ हजार युनिट ‘अल्टो’ कारको उत्पादन गरेको कम्पनीको ‘मारुति ८००’ दोस्रो धेरै उत्पादन भएको कार हो । २९ लाख १ हजार युनिट कार १९८३ देखि २००७ सम्मा उत्पादन गरेको थियो । त्यसपछि कम्पनीले मारुति ८०० को उत्पादन बन्द गरेको हो । 

यो पनि पढ्नुस्ः मारुति सुजुकी ‘भिटारा ब्रेजा’ टोयोटाको लोगोमा आउने, यस्तो छ तयारी

मारुतिको तेस्रो धेरै उत्पादन भएको कार हो वागेनार । कम्पनीले २१ लाख ३ हजार युनिट वागेनार उत्पादनगर्दा ओम्नी भ्यानको उत्पादन १९ लाख ४ हजार युनिट गरेको छ । यो बाहेक अन्य कार उत्पादनको डाटा कम्पनीले दिएको छैन । 

सन् २००५ मा ५० लाख युनिट उत्पादन पुर्याएको कम्पनीले सन् २०११ मा १ करोड युनिट उत्पादन पुर्याएको थियो । 

सन् २०१५ मा १ करोड ५० लाख युनिट उत्पादन पुर्याएकोमा सन् २०१८ को मध्यमा नै २ करोड युनिट उत्पादन पुर्याउन सफल भएको छ । यसले कम्पनीको लोकप्रियता देखाउँछ । 

कम्पनीले अहिले बार्षिक २० लाख युनिट कार उत्पादन गरेर बेच्ने घोषणा गरिसकेको छ । 


Back_to_top